पत्रपत्रिका

नेपालीलाई ठग्न ‘हाइपर फन्ड’ को जालो

Banner

काठमाडौँ, जेठ २८-

भर्चुअल मुद्रा ‘हाइपर फन्ड’ मा लगानी गरे २० गुणासम्म फाइदा हुने प्रलोभनमा परी काठमाडौँ बस्दै आएकी इलामकी ६४ वर्षीय कमला न्यौपाने (नाम परिवर्तन)ले २९ लाख ३८ हजार रुपियाँ गुमाइन्। सामान्य मोबाइलसमेत चलाउन नजान्ने न्यौपानेले सो रकम छिमेकीमार्फत ‘हाइपर फन्ड’ मा लगानी गरेकी थिइन् ।

सन् २०२१ मा वैदेशिक रोजगारीका क्रममा इजरायल पुगेकी दोलखा जिरीकी नुर्वु शेर्पा (नाम परिवर्तन)का दम्पतीले सम्पूर्ण कमाइ एक करोड ३६ लाख २४ हजार ‘हाइपर फन्डमा गुमाइन् । यही कारण परिवारमा बेमेल बढ्ने डरले शेर्पा आफ्नो पीडा खुलेर भन्नसमेत सक्दिनन् ।

पेसाले शिक्षिका कैलाली, धनगढीकी कमला पुरी (नाम परिवर्तन)ले आफ्नो कमाइको सम्पूर्ण रकम र सहकारीबाट ऋणसमेत लिई २२ लाख २८ हजार पाँच सय रुपियाँ ‘हाइपर फन्ड’ मा गरेको लगानी डुब्यो । वैदेशिक रोजगारीका क्रममा माल्दिभ्समा रहेकी चितवनकी शान्ति भण्डारी (नाम परिवर्तन)ले १० लाख २० हजार पाँच सय रुपियाँ र इजरायलमा बस्ने सालीको विश्वासमा परेर म्याग्दी बेनीका श्यामबहादुर केसी (नाम परिवर्तन)ले ३१ लाख ७० हजार रुपियाँ ‘हाइपर फन्ड’ मा गुमाए।

यी यस्तो ठगीका केही प्रतिनिधि घटना मात्र हुन् । नेटवर्किङ शैलीमा ‘हाइपर फन्ड’ भनिने भर्चुअल लगानी प्लेटफर्मबाट रातारात कमाउने प्रलोभनमा परी स्वदेश तथा विदेशमा बस्ने सयौँ नेपाली ठगिएको पाइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका आफन्त र चिनजान व्यक्तिलाई विदेशमै बसेर ठगी गर्ने गिरोहमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान अघि बढाएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार जोसियल, सोलेम्याक्स, क्राउड वान, सिआरयु, विन्टर जस्ता भर्जुअल प्लेटफर्ममार्फत विदेशमा बसेर नेपालीलार्ई ठगी गर्नेमाथि अनुसन्धान अगाडि बढाइएको हो । सिआइबीको प्रारम्भिक अनुसन्धानमा ‘इजरायल र अस्ट्रेलियामा रहेका नेपालीलाई लक्षित गरी २० गुनासम्म कमाइ हुने प्रलोभनमा पारी कतिपय पीडितलाई घरजग्गा धितो राखेरसमेत हाइपर फन्डमा लगानी गर्न लगाइएको खुलेको छ ।

कतार र दुबईलगायतका खाडी देशका नेपाली कामदारलाई पनि यस्तो प्रलोभनमा पारिएको र पीडितको सङ्ख्या हजारौँ हुन सक्ने अनुमान ब्युरोको छ । जुम, टेलिग्राम, ह्वाट्सएप र म्यासेन्जर जस्ता भर्चुअल प्लेटर्फममार्फत ग्रुप बनाई बेलायत, पोर्चुगल, दक्षिण कोरियादेखि मलेसिया र खाडीमा काम गरिरहेका ठुलो सङ्ख्या नेपाली ठगीको जालेमा फसेको ब्युरोले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>