देश/प्रदेश
थुनुवा छुटाइदिने प्रलोभनमा ४५ लाख ठगी, १ जना पक्राउ

काठमाडौं,जेठ २७-
जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा पक्राउ परी थुनामा रहेका सञ्जयकुमार साहलाई छुटाइदिने भन्दै पैसा लिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही मलंगवाका मुन्ना भन्ने सुजितकुमार सिंह छन् ।
उनले २०८० चैत २९ गते जुवा तथा सट्टेबाजीसम्बन्धी कसुर मुद्दामा पक्राउ परेर थुनामा रहेका साहलाई छुटाई दिन्छु भनि चेक र नगद गरी ४५ लाख रुपैयाँ ठगी गरेको आरोप पीडित परिवारको छ ।
सिंहले साहका आफन्तलाई उच्चपदस्थ व्यक्ति, सरकारी वकिल, न्यायाधीश, प्रहरीसमेतलाई तलदेखि माथिसम्म पैसाले सेटिङ मिलाउँछु भनी उक्त रकम लिएको प्रहरीले जनाएको छ । उनलाई धापाखेलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
सिंहलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।