चितवन विशेष
चितवनको सिजी ल्याण्डमार्कको सिने प्लेक्स हल क्युएफएक्स सिनेमाको व्यवस्थापनमा सञ्चालन

भरतपुर,जेठ २४-
चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको सिने प्लेक्स सिनेमा हल क्युएफएक्स सिनेमाको व्यवस्थापनमा सञ्चालनमा आएको छ । शुक्रबारदेखि सिने प्लेक्स हल क्युएफएक्सको व्यवस्थापनमा सञ्चालनमा आएको हो ।
भरतपुरमा पत्रकार सम्मेलन मार्फत क्युएफएक्सले पहिलो पटक काठमाडौं बाहिर एउटै शहरमा दुई वटा सिनेमा हललाई आफ्नो व्यवस्थापनमा लिएको जनाएको छ । यसअघि क्युएफएक्सले चितवनको जलमा हल आफ्नो व्यवस्थापनमा सञ्चालन गरिरहेको छ ।
यस्तै क्युएफएक्सले चितवनको सिजी प्लेक्ससंगै पोखरास्थित ट्रेड मलको पोखरा सिने प्लेक्सको हलपनि आफ्नो व्यवस्थापनमा सञ्चालनमा ल्याएको जनाएको छ ।
सुविधा सम्पन्न हलहरुमा सिनेमा हेर्ने स्थानीय दर्शकहरुको आफ्नो रोजाइको चलचित्र हेर्ने चाहाना पुरा गर्ने क्युएफएक्सका सञ्चालक भाष्कर ढुंगानाले बताउनुभयो । उहाँले यस हलमा आरामदायी सिट, आधुनिक प्रोजेक्सन र साउण्डसिष्टम तथा टु डि र थ्रि डि स्क्रीन सहित दर्शकले सिनेमा हेर्न पाउने जानकारी दिनुभयो । ‘यहाँ स्तरिय खाना, दर्शकले पाउने सेवा र कर्मचारीको व्यवहारले सिनेमा प्रेमीहरुको मन जित्नेछ,उहाँले भन्नुभयो,बुधबार र बिहिबार टिकट दरमा समेत बिशेष छुटको समेत व्यवस्था गरिएको छ ।’ क्युएफएक्सले चितवनमा क्युफएफक्स सिनेमा मोबाइल एपबाट अनलाइन टिकटको समेत व्यवस्था गरेको ढुंगानाले बताउनुभयो ।
नेपालमा सुविधासम्पन्न सिनेमा हल स्थापना संगै चलचित्र क्षेत्रको विकास समेत भएको ढुंगानाको भनाई छ । ‘नेपालमा विगतका दिनमा सिनेमाले दुई करोड आम्दानी पनि मुस्किलले गर्दथे अहिले २२ करोड सम्म एउटै चलचित्रले आम्दानी गरेका छन्,उहाँले भन्नुभयो,यसमा सिनेमा हलको महत्वपूर्ण भूमिका छ ।’
सिनेप्लेक्स हलका सञ्चालक गणेश श्रेष्ठले क्युफएएक्स संगको सहकार्यले सिनेमा हल थप व्यवस्थित हुने बताउनुभयो । उहाँले दर्शकको सेवा सुविधा प्रदान गर्नका लागि सहकार्य गरेर अघि बढेको समेत बताउनुभयो ।
देशभर क्युफएएक्स सिनेमाको पर्दा संख्या ४० र हल संख्या १७ पुगेको क्युएफएक्स सिनेमाका जनरल म्यानेजर तृप्ती गिरीले बताउनुभयो । उहाँले २३ बर्ष अघि स्थापना भएको क्युएफएक्सले विदेशी ब्राण्डसंग प्रतिस्पर्धा गरेर यहाँसम्म आएको बताउनुभयो । चितवन र पोखरामा दुई हल थपिएसंगै काठमाडौं बाहिर क्युएफएक्सको हलसंख्या १० पुगेको छ ।