देश/प्रदेश

प्रतिनिधिसभाः तराईमा खानेपानीको स्रोत जोगाउन चुरे संरक्षणमा जोड

Banner

काठमाडौँ, जेठ २०-

प्रतिनिधिसभा सदस्यहरुले चुरे क्षेत्रको विनाशका कारण खानेपानीको मुहान सुक्दै गएकाले तराईवासीले खानेपानीको चरम अभाव सामना गरिरहेका भन्दै समयमा नै चुरे जोगाउनुपर्नेमा जोड दिनुभएको छ ।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको बैठकमा सांसदहरुले तराईको खानेपानीसम्बन्धी समस्या दीर्घकालीनरुपमा समाधान गर्न चुरे बचाउनुपर्नेमा जोड दिनुभएको हो ।

सांसद रामप्रकाश चौधरीले चुरे संरक्षण गरेर यस क्षेत्रका जनतालाई खानेपानीको समस्याबाट मुक्त गराउनुपर्नेमा जोड दिनुभयो । “‘चुरे बचाऊ र पानी देऊ’ भनेर २५ दिन पैदल हिँडेर तराईका महिला तथा पुरुष माइतीघर आउनुभएको छ, पानीको माग राखेर धर्नामा बस्नुभएको छ”, उहाँले भन्नुभयो, “यस विषयमा सरकारको ध्यान आकर्षण भएको छैन ।” धर्नामा बसेका मानिसको अवस्था दयनीय हुँदै गइरहेको भन्दै सरकारले गम्भीर भएर समस्या समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद मनिष झाले चुरे दोहनका कारण तराईमा पानीको स्रोत सुक्दै गइरहेको भन्दै समयमा नै सचेत रहनका लागि ध्यानाकर्षण गर्नुभयो । “चुरे दोहनका कारण मधेसमा पानीको स्रोत जमिनमुनि गएको छ र पानीको समस्या बढिरहेको छ”, उहाँले भन्नुभयो, “संसदीय समिति बनाउने वा नबनाउने भन्ने विषयमा संसद् अवरुद्ध हुँदा जनतामा समस्या सम्बोधन हुन पाएनन् ।”

सांसद डा वीरेन्द्रप्रसाद महतोले मधेसमा पानीको हाहाकार बढेको र यसमा सरकारको ध्यानाकर्षण नभएको भन्दै आपत्ति जनाउनुभयो । “शिक्षामा अर्बौं रकम लगानी गरी युवा विदेश गएका छन् । स्वदेशमा विद्यार्थी नपाएर शिक्षक कटौती भएको छ”, उहाँले भन्नुभयो, “तराईमा मिटरब्याजीको समस्या अझै समाधान छैन । यस्ता समसामयिक विषयमा सरकारको ध्यान जान जरुरी छ ।”

सांसद दामोदर पौडेल वैरागीले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा ठूला भौतिक पूर्वाधार क्षेत्रका बजेट कटौती भएको भन्दै यसले आयोजना निर्माण पछाडि धकेलिएको बताउनुभयो । उहाँले संसद् अवरुद्ध हुँदा आगलागीका भयाबह अवस्था, वन डढेलो, मावन–वन्यजन्तु द्वन्द्वका विषय छायाँमा परेको भन्दै आपत्ति जनाउनुभयो ।

“संसद् अवरुद्ध भएका कारण आगामी आवका लागि तय भएको सरकारको नीति तथा कार्यक्रम माथि देखिएका कमीकमजोरीका विषयमा छलफल हुन पाएन”, सांसद पौडेलले भन्नुभयो, “छलफल नहुँदा यो विषयमा हामी गम्भीर हुन सकेनौँ ।”

सांसद ज्ञानेन्द्र शाहीले क्रिकेट खोलाडीलाई अमेरिकाले भिसा नदिएका विषयमा सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । सांसद शेरबहादुर कुँवरले दुर्गम जिल्लाका स्वास्थ्य संस्थामा राज्यको लगानी बढ्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रेखा यादवले आगामी आवका लागि विनियोजन गरिएको बजेटमा विपन्न वर्ग, बालिबालिका, महिला तथा वृद्धलाई प्राथमिकता दिन नसकेको बताउनुभयो । “विपन्न परिवारका विद्यार्थीलाई आवासीय विद्यालय बनाउन सकिएको छैन । दलित तथा विपन्न वर्गका लागि आवासीय विद्यालय बनाइयोस्”, उहाँले भन्नुभयो ।

सांसद गङ्गाराम चौधरीले आगामी आवका लागि विनियोजन भएको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिन नसकिएको भन्दै आपत्ति जनाउनुभयो । “हाम्रा रैथाने बाली संरक्षण गर्नसकेमा पनि कृषि उत्पादन वृद्धिमा योगदान पुग्नसक्छ”, उहाँले भन्नुभयो, “सरकारले अन्न तरकारी तथा फलफूलमा अनुदान र कृषिलाई प्राथमिकता दिन आवश्यक छ । यसका लागि कृषि पकेट क्षेत्र घोषणा गर्नुपर्छ ।” उहाँले किसानका लागि ‘किसान कार्ड’को नीति ल्याएर वास्तविक किसानमा अनुदान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रेम सुवालले जमिनमुनिको पानी तान्दा काठमाडौँ भासिने खतरा बढिरहेको भन्दै समयमा नै सचेत हुनुपर्नेमा जोड दिनुभयो । “जलवायु परिवर्तनका कारण दुई डिग्री सेल्सियस तापक्रम बढ्ने अवस्था आएको, किसान खडेरीको मारमा परेका छन् । जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा असर पु¥याउने भएकाले हिमाल जोगाउन सबै लाग्नुपर्नेछ”, उहाँले प्रश्न गर्नुभयो, “यसबारे सरकारको ध्यान कहिले जाने ?”

सांसद चित्रबहादुर केसीले सहकारीको रकम हिनामिना गर्नेलाई राज्यले संरक्षण गर्न नहुने बताउनुभयो । सांसद प्रभु साहले वैदेशिक रोजगारीमा जानेमाथि ठगी भइरहेको भन्दै उनीहरुलाई न्याय दिलाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद अमृता अग्रहरिले सरकारले नीहित स्वार्थ छाडेर जनताका हितमा काम गर्न सुझाव दिनुभयो । “बजेट जनतामुखी हुनु आवश्यक छ । जहाँ बढी जनसङ्ख्या छ त्यहाँ बढी विनियोजन हुनुपर्छ”, उहाँले भन्नुभयो । सांसद सूर्यकुमारी श्रेष्ठले महिला बालिबालिका मन्त्रालय र कृषि मन्त्रालयको बजेट सिलिङ कम भएको भन्दै आपत्ति जनाउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>