चितवन विशेष
राष्ट्रिय पर्या कविता प्रतियोगितामा मकवानपुरका सुवास प्रथम

चितवन, जेठ १९–
‘भरतपुर भ्रमण वर्ष २०२४’ को अवसरमा पर्यटकीय क्षेत्र पटिहानीमा आयोजित राष्ट्रिय पर्या कविता प्रतियोगितामा मकवानपुरका कवि सुवास सिन्तान लामा प्रथम भएका छन् ।
भरतपुर महानगरपालिकाको आयोजना, राप्ती तटीय सरसफाई अभियानको सहयोगमा भएको प्रतियोगितामा सुवासले ‘चौतारोः एक आत्मालाप’ शीर्षकमा कविता वाचन गरेका थिए । यस्तै रौतहट चन्द्रनिगाहापुरका कवि समर्पण न्यौपानेले ‘अनन्त मुस्कान’ शीर्षकको कविता वाचन गर्दै द्धितीय भए भने चितवन भरतपुरका कवि परिवेश चापागाईले ‘भेन्टिलेटरको शहर’ शीर्षकको कविता वाचन गर्दै तृतीय स्थान हासिल गर्न सफल भए ।
उनीहरुलाई भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतो, भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुवेदी, कवि भूपिनलगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा कुल १६८ जना कविले सहभागिता जनाएका थिए भने फाइनलमा ८ जना कवि बीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको निर्णायकहरुमा डा.गीता त्रिपाठी, निमेष निखिल र प्रकाश चापागाई रहेका थिए ।