देश/प्रदेश
दार्चुला र मुगुमा यार्सा सङ्कलन गर्न गएका तीनजनाको मृत्यु, एक सिकिस्त

मुगु, जेठ १९-
यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउबाट फोनमा प्रतिनिधिलाई जानकारी दिनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी भएका बताउनुभयो । सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको बताउनुभयो ।
त्यस्तै दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकपनि भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो ।
गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो ।
मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो । रासस

























