समाचार
गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ आज

काठमाडौं, जेठ १६-
गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो।
लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार अदालतमा दर्ता भएको थियो। पहिले अदालत प्रशासनले दरपीठ गरेको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो।
भट्टराईको रिटमा गृहमन्त्री लामिछानेसहित महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ। लामिछानेमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग रिटमा गरिएको छ। लामिछाने पदमा रहिरहँदा छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ।
रिटमा लामिछानेले विभिन्न सहकारीका बचतकर्ताको रकम गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप लगाइएको छ।
सहकारीमा भएको हिनामिनाबारे छानबिन गर्न मंगलबार संसदीय समिति समेत बनिसकेको छ।























