चितवन विशेष
सफाई पाएपछि चितवन क्रिकेट संघले दियो सन्दीप लामिछानेलाई शुभकामना

चितवन, जेठ ३–
बलात्कार मुद्दामा उच्च अदालत पाटनले नेपालका पूर्व क्रिकेट कप्तान एवं वर्तमान समयका मुख्य खेलाडी सन्दीप लामिछानेलाई सफाई दिएपछि गृहजिल्ला चितवन जिल्ला क्रिकेट संघले खेल जीवनको उत्तरोत्तर प्रगतिको शुभकामना दिएको छ ।
चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पियाले बिहीबार एक विज्ञप्ती जारी गर्दै उच्च अदालत पाटनप्रति आभार प्रकट समेत गरेको छ । विज्ञप्तीमा भनिएको छ–‘चितवन क्रिकेट एकेडेमीबाट आफ्नो क्रिकेट खेल जीवन सुरु गर्नु हुने नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान, सम्पूर्ण क्रिकेट खेल प्रेमीहरुको ढुकढुकी सन्दीप लामिछानेज्युलाई सम्मानित उच्च अदालत पाटनबाट सफाइ मिलेको सन्दर्भमा चितवन जिल्ला क्रिकेट संघ उच्च न्यायालय प्रति हार्दिक आभार व्यक्त गर्दछ । साथै उहाँको खेल जीवनको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं । नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउन सफल सन्दीप लामिछाने प्रति सुभावना प्रकट गर्नु हुने सम्पूर्ण क्रिकेट खेलप्रेमी महानुभावहरुलाई पनि चितवन जिल्ला क्रिकेट संघ आभार व्यक्त गर्दछ ।’
सन्दीप स्क्याम्पाचौरस्थित संघको क्रिकेट एकेडीमीमा प्रशिक्षण गर्दागर्दै यु १९ राष्ट्रिय टिममा स्थान बनाएका थिए । चितवनका आएका तत्कालिन मुख्य प्रशिक्षक पबदु दासानायेकेले सन्दीपलाई क्याम्पाचौरबाट सिधै राष्ट्रिय टिमा पु¥याएका थिए । यु–१९ विश्वकपमा ह्याट्रिक विकेटसहित उच्च प्रदर्शन गरेपछि उनी सबैको नजरमा परेका थिए । सन्दीप पछिल्लो समय राष्ट्रिय टिमबाट श्रीलंका र पाकिस्तानमा भएको एशिया कप खेलेका थिए ।
यसपटकको एशिया कप छनौट प्रतियोगिता नेपाली टोली सन्दीप बिनानै खेलेको थियो । जहाँ चौथो स्थानमा रहँदै प्रतियोगिता अन्त्य गरेको थियो । त्यसैले समर्थकहरुले सन्दीपले विश्वकप खेल्न पाउनुपर्ने भन्दै आवाज उठाउँदै आएका थिए । समर्थकहरुले बुधबार सन्दीपले सफाइ पाउँदा काठमाडौँमा नारा लगाएका थिए । सन्दीपलाई अमेरिका र वेष्ट इण्डिजमा हुन लागेको टि–२० विश्वकप खेलाउन नेपाल क्रिकेट संघ लागि परेको छ ।

























