देश/प्रदेश

जनजाति सङ्ग्रहालय अधुरै

Banner

गलकोट (बागलुङ), जेठ ३-

बागलुङको काठेखोला गाउँपालिकाले गौरवको योजनाका रुपमा रहेको जनजाति सङ्ग्रहालय छ वर्षदेखि अधुरै रहेको छ । विसं २०७५ देखि सुरु गरिएको काठेखोला–४ तङ्ग्रामस्थित जनजाति सङ्ग्रहालय बजेट अभावमा अधुरै रहेको छ ।

तङ्ग्राममा रहेका जनजातिको पहिचान, भाषा, वेषभूूषा र संस्कृतिलाई सङ्ग्रहित गर्ने उद्देश्यले जनजाति सङ्ग्रहालय निर्माणमा गाउँपालिकाले थालनी गरेको थियो । गाउँपालिकाबाट ‘एक वडा एक गौरवको योजना’अन्तर्गत हालसम्म झन्डै रु ५८ लाख रकम खर्च भइसकेको छ ।

अहिले सङ्ग्रहालयको एकतला भवनमात्रै निर्माण भएको छ । उक्त एकतला भवनले अझै पूर्णता पाउन नसकेको हो । बजेट अभावमा भवनमा झ्याल तथा ढोकासमेत राख्न सकिएको छैन ।

सङ्ग्रहालय निर्माणसँगै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको भए पनि गाउँपालिकाले बजेट अभावका कारण समयमै निर्माण गर्न नसकेको गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले बताउनुभयो ।

गाउँपालिकाको एक वडा एक गौरवको योजनाअनुसार पर्यटन तथा जनजाति सङ्ग्रहालय निर्माण थाले पनि चालु आर्थिक वर्षमा गाउँपालिकाले बजेट विनियोजन गर्न सकेको छैन ।

“गौरवको योजनाका रुपमा गाउँपालिकाले लिएको जनजाति सङ्ग्रहालयमा पछिल्लो समय गाउँपालिकाले बजेट राख्न सकेको छैन, प्रदेश सरकारसँग समन्वय भइराखेको छ, आगामी आर्थिक वर्षमा सके प्रदेशबाट नसके गाउँपालिकाबाट थोरै रकम भए पनि विनियोजन गरेर एक तला भवनलाई पूर्णता दिने योजनामा गाउँपालिका छ”, प्रवक्ता विकले भन्नुभयो, “गाउँपालिकाले नै रु ५८ लाख खर्चेको भवनलाई अलपत्र छाड्ने भन्ने हुँदैन तर बजेट अभावले ढिलाइ भएकै छ, आगामी वर्ष पूर्णता पाउँछ, त्यसपछि तला थप गर्ने अथवा सङ्ग्रहालय सञ्चालन गर्ने भन्ने विषयमा गाउँपालिकाले छलफल गर्छ ।”

जनजाति सङ्ग्रहालयका लागि गाउँपालिकाले २०७५ सालमा रु पाँच लाख, २०७६ मा रु २० लाख, २०७७ मा रु १३ लाख, २०७८ मा रु १५ लाख र २०७९ मा रु पाँच लाख गरी रु ५८ लाख खर्च गरिसकेको छ । सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जाति–जनजातिको पहिचान झल्कने सामग्री राखिने भए पनि सङ्ग्रहालय निर्माणमा ढिलाइ भएको स्थानीय नरबहादुर विकले बताउनुभयो ।

उहाँले सङ्ग्रहालय बनेपछि गाउँमा पर्यटक आउने र आर्थिकरुपमा जीविकोपार्जनमा समेत टेवा पुग्ने भए पनि भवनको छ वर्षसम्म निर्माण नसकिएको हो । सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने जातजातिको वेषभूषा, संस्कृति, रीतिरिवाज, परम्परा झल्किने वस्तु राखिने र गाउँपालिकाका जनजातिको लोपोन्मुख भाषा, संस्कृति तथा सामग्रीलाई झल्काउन मद्दत गर्नेगरी निर्माण थालिएको थियो । रासस

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन प्रयास थालिएको छ । वडाकै पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्ने प्रयास थालिएको हो ।

वडा कार्यालय र गुरुङ मगर सांस्कृतिक एकता समाजले यहाँ २९ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि सम्झौता गरेका छन् । वडाध्यक्ष नारायणसिंह थापा र समाजका अध्यक्ष मनराज गुरुङबीच वडाले एकता समाजलाई बुद्ध मूर्ति निर्माणमा सहयोग गर्ने र समाजले मूर्तिसहितको संरक्षणको सम्पूर्ण स्वामित्व लिने विषयमा सम्झौता भएको हो ।

यस ठाउँलाई पर्यटकीयस्थलका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको वडाध्यक्ष थापाको भनाइ छ । वडा कार्यालयले एक्लैले ठूला योजना निर्माण गर्न नसक्ने भएकाले नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य गर्नुपर्ने उहाँले बताउनुभयो । गुरुङ मगर सांस्कृतिक एकता समाजका अध्यक्ष गुरुङले गौतम बुद्ध सबैको साझा व्यक्ति भएकाले बुद्धको मूर्ति निर्माणपछि समग्र नगरको प्रचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बुद्ध मूर्ति निर्माणका लागि रु एक करोड बजेट लाग्नेछ । समाजले चन्दा सङ्कलन गरी रकम सङ्कलन गर्नेछ । उहाँले भन्नुभयो, “समाजसँग आवद्ध देश तथा विदेशमा रहनेहरूसँग चन्दा सङ्कलन गरिनेछ ।”

एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार भइसकेको छ । यस ठाउँलाई उजागर र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन एक्लेडाँडा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको छ । समितिका अध्यक्ष विपेन्द्रसेन ठकुरीले बुद्धको प्रतिमा निर्माणपछि यसको थप प्रवर्द्धन हुने उल्लेख गर्नुभयो ।

प्रतिवेदनअनुसार पूर्वाधार निर्माणका लागि रु १२ करोड ५३ लाख ३४ हजार चार सय एक बजेट आवश्यक पर्ने देखिएको छ । प्रतिवेदनअनुसार दुई किलोमिटरको पदमार्ग र एक्लेडाँडोमा शान्तिका प्रतिक गौतम बुद्धको मूर्ति निर्माण गरिनेछ ।

पृथ्वीराजमार्गमा लेखनाथबाट म्याग्दे देखिने गरेर आमाको प्रतीकका रुपमा स्तनपान गराइरहेकी महिलाको विशाल मूर्तिसमेत निर्माण गरिनेछ । एक्लेडाँडाबाट शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जिपलाइन निर्माण गर्ने योजनासमेत समेटिएको छ । जिपलाइन साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्नेछ ।

बुद्धजयन्तीका दिनमात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज आन्तरिक पर्यटकले भरिभराउ हुन थालिसकेको छ । सधैँ दुलेगौँडा सहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा त्यही सहरका व्यस्त मानिस साँझ–बिहान टहलिन पुग्छन् । स्वस्थ बन्न पैदलयात्रा गरेर उकालो चढ्छन् । स्थानीयवासीका अनुसार शनिबार र चाडपर्वमा दैनिक दुई–तीन सयसम्म आन्तरिक पर्यटक एक्लेडाँडामा उक्लन्छन् । केही वर्ष पहिला यहाँ घाँस दाउरा गर्न बाहेक स्थानीय जादैनथे ।

पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेका वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धुपबत्ती बाल्ने गर्दछन् । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने शान्त डाँडैभरि झिलीमिली ध्वजापताका टाँसिएको छ । पर्यटकको चहलपहल बढ्न थालेपछि तीन वर्ष पहिला वडा कार्यालयले रु १० लाख बजेटमा दुई सय मिटर रेलिङसहितको पदमार्ग निर्माण गरेको थियो । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच लाखको लागतमा ढुङ्गाको छपनी बिछ्याएर साढे दुई सय मिटर पदमार्ग बनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>