चितवन विशेष
कृषि विकास कार्यालयको योजना तर्जुमा गोष्ठी, चालु वर्षभन्दा आधा बढीले घट्यो बजेट

चितवन, वैशाख ३१–
किसान तथा कृषक सरोकारवालले किसानलाई विउ उत्पादनका लागि प्राविधिक ज्ञान दिन आवश्यक रहेकोमा जोड दिएका छन् ।
कृषि विकास कार्यालय, चितवन, बागमती प्रदेशले आज भरतपुरमा गरेको योजना तर्जुमा गोष्ठीमा उनीहरुले किसानलाई बिउ अनुदान मात्र दिएर नभई प्राविधिक ज्ञान पनि दिन आवश्यक रहेकोमा जोड दिएका हुन् । यसका लागि आगामि कार्ययोजनामा समेट्न माग समेत गरेका छन् । किसानले बिउ पाउने तर त्यसको उचित प्रयोग गर्न नजान्दा उत्पादन कम हुने गरेको सरोकारवालाहरुको भनाई थियो ।

यस्तै किसानसंग प्रत्यक्ष रुपमा स्थानीय तहका प्राविधिकहरु जोडिने भएकाले उनीहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरुलाई जोड दिन आवश्यक रहेको बताएका थिए । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कंडेलले सिमित बजेटका बाबजुद किसान लक्षित कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको बताए । उनले आगामि योजनामा किसानका सुझावलाई ध्यान दिएर कार्यक्रम तय गरिने प्रतिवद्धता जनाए । कार्यालयका अनुसार आगामि वर्ष २०८१/८२ का लागि चालु तथा पूजीँगत गरी ५ करोड ३३ लाख ४५ हजार बजेट सिलिङ तोकिएको छ । यो चालु आव भन्दा ८ करोड ८१ लाख ९ हजार रुपैयाँ कम हो । यस कार्यालय चितवनसंगै मकवानपुर जिल्लामा कार्यक्षेत्र भएर काम गर्ने गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्य समिति चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, कृषि तालिम केन्द्र भण्डाराका प्रमुख नारायण कुमार श्रेष्ठ, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरकी वैज्ञानिक सरस्वती न्यौपानेलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए । कृषि विकास अधिकृत उमराज अर्यालले सहजीकरण गरेको कार्यक्रममा योजना अधिकृत निर्मल पौडेलले वार्षिक योजना प्रस्तुत गरेका थिए ।


























