चितवन विशेष
थारू भाषाको लेखनशैलीलाई स्तरीकरण गर्न गोष्ठी

कारी महतो
चितवन, वैशाख २९–
थारू भाषाको लेखनशैलीलाई स्तरीकरण गर्नका लागि चितवन र नवलपुरका थारू समुदायका प्रतिनिधिहरूको सहभागितामा आज (शनिबार) थारू मानक भाषा लेखनशैली कार्यशाला गोष्ठी सम्पन्न भएको छ । थारू आयोगका सदस्य भोलाराम चौधरीको प्रमुख आतिथ्यमा थारू कल्याणकारिणी सभा (थाकस) चितवनको सभाहल कार्यक्रम सम्पन्न भएको हो ।
गोष्ठीमा थारू भाषा मानक मस्यौदा समितिका सदस्य महेश कुमार चौधरीले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा थाकस नवलपुरका सभापति रामप्रसाद महतोले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै थाकसका केन्द्रीय पूर्व महामन्त्री भुलाई चौधरीले कार्यक्रमको ओैचित्य बारे प्रष्ट पार्नु भयो ।
कार्यक्रममा थाकसका केन्द्रीय उपाध्यक्ष विष्णुकुमारी चौधरी, केन्द्रीय पूर्वउपाध्यक्ष भजुमनराम महतो, बुद्धिजीवी डा. संजय महतो, डा. मनोज चौधरी, चन्द्रमणि महतो, थाकस नवलपुरका सभापति रामप्रसाद महतो, सचिव दुर्गेश चौधरी लगायतले मन्तव्य व्यक्त गर्नु भयो ।
थाकस चितवनका सचिव तथा थारू पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तकुमार चौधरीले गोष्ठीको सहजीकरण गर्नुभएको थियो । गोष्ठीका सहभागीहरूबाट चितोनिया र ललपुरिया थारू भाषाका मौलिक शब्दहरू समेत संकलन गरिएको थियो । थारू भषा साहित्य केन्द्र नेपालका आयोजना, थारू कल्याणकारिणी सभा र थारू भाषा मानक मस्यौदा समितिको सहकार्य तथा थारू आयोगको सहयोगमा सम्पन्न भएको हो ।
























