Breaking News

विश्वव्यापी ब्राण्ड बनेको वाइवाइलाई बदनाम गर्न प्रोपागाण्डा चलाइयोः निर्वाण चौधरी

Banner

काठमाडौं, वैशाख १७-

वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएको विषयमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले बोलेका छन् । निर्देशक चौधरीले वाइवाइ चाउचाउ विश्वभर लोकप्रिय नेपाली स्वादका रुपमा स्थापित हुँदै जाँदा देशभित्र नियोजित प्रोपागाण्डा चलाइएको दाबी गरेका छन् ।

चाउचाउ गुणस्तरहीन भनेर प्रचार भइरहेका बेला वक्तव्य जारी गर्दै चौधरीले विश्वभर ४० देशमा यसको ब्राण्ड बनिसकेको र अन्य देशमा फैलिँदै गरेको बताएका हुन् । उनले चौधरी ग्रुप आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ रहेको भन्दै नेपाली पहिचानको रुपमा विश्वव्यापी ब्राण्ड बनेको वाइवाइलाई बदनाम गर्ने प्रवृत्तिको भ्रममा नपर्न उपभोक्तालाई आग्रह समेत गरेका छन् ।

तर, काठमाडौं महानगरपालिकाले गुणस्तर परिक्षणमा चाउचाउ फेल भएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको थियो। परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि महानगर अन्तर्गतको कृषि तथा पशुपन्छी विभागले उक्त जरिवाना गरेको थियो। बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको महानगरले जनाएको छ।

उनको वक्तव्यमा भनिएको छः

वाई वाई, नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसकेको छ र यो अझै विश्वका अन्य देशहरुमा फैलिँदै गएको छ ।

हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन । चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् ।जसमा वाइ वाइलाई निशाना बनाइएको छ ।

हामीले पटक पटक भनेका छौं कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन् ।

अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रीय नेपाली स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौं ।

नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौं र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौं ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>