देश/प्रदेश

संस्थापक अध्यक्ष अर्यालको सम्मानमा सालिक अनावरण

Banner

वालिङ (स्याङ्जा), वैशाख १५-

स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ सतौँ हटियास्थित मातृभूमि माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष गेज शर्मा अर्यालको सम्मानस्वरुप सालिक निर्माण गरिएको छ ।

मातृभूमि विद्यालयसहित अन्य स्थानमा पनि जनताको आवश्यकतालाई पहिचान गरी शैक्षिक गतिविधि अगाडि बढाउनुभएका स्वर्गीय अर्यालको योगदानको उच्च मूल्याङ्कन गर्दै सालिक निर्माण गरेको छोरा किरणबन्धु अर्यालले बताउनुभयो ।

मातृभूमि विद्यालयको स्थापना भएपछि जिल्लाका हरेक कुनाकाप्चाबाट यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्यामा उल्लेख वृद्धि हुँदै जाँदा समग्रमा स्याङ्जाको शैक्षिक उपलब्धि हासिल गर्न मद्दत पुगेको उहाँले बताउनुभयो ।

जिल्लाकै पायकपर्ने स्थानमा स्थापना भएको मातृभूमि विद्यालयले तत्कालीनरुपमा शिक्षाको विकासमा महत्वपूर्ण योगदान दिएको थियो । “यस विद्यालयमा स्याङ्जाका बिरुवा, किचनास, बिर्घा, लुब्दीखोला, बानेथोक देउराली, आरुचौर र पर्वको ज्ञादीदेखिका विद्यार्थी अध्ययन गर्न आउने गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अन्य विद्यालय स्थापनाका लागि प्रेरक भई शैक्षिक योग्यतामा अभिवृद्धि गर्दै समग्रमा जिल्लाको शैक्षिक विकासमा कोशेढुङ्गा सावित भएको कुरा सबैका सामु छर्लङ्ग छ ।”

स्वर्गीय अर्यालको पहलमा मातृभूमि विद्यालय सञ्चालन आएसँगै जिल्लाका अन्य स्थानमा पनि विद्यालय स्थापना गर्ने लहर चल्दै गयो । स्वर्गीय अर्यालले पुतलीबजार–१० सुम्रैखोलामा गाउँफर्क प्रावि, राङखोलास्थित चक्रकमला प्रावि, लुम्दीस्थित मनकामना प्रावि, पेल्काचौरस्थित मनकामना मावि र दरौँंस्थित दरौँं माविको स्वीकृतिका लागि अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।

स्वर्गीय अर्यालले गरिबको उत्थानका लागि गरिब उद्धार समिति, जातीय विभेदलाई निरुत्साहित, दलित जनजातिको समग्र आर्थिक, सामाजिक समृद्धिका लागि नयाँ आयामको सुरुआत गर्नुभएको थियो ।

बिपी कोइरालाले राणाकालदेखि नै सुरु गर्नुभएको आर्थिक, राजनैतिक र सामाजिक आन्दोलनमा स्वर्गीय अर्यालले महत्वपूर्ण योगदान गर्नुभएको थियो । स्वर्गीय अर्यालले आफ्नो मामाघर बानेथोक देउरालीको समाधीखोलामा आफूले हलो जोत्ने अभियानको सुरुआत गर्नुभएको उहाँले बताउनुभयो ।

बाह्मणले हलो जोत्न हुन्न भन्ने कुरीति, हली र साहुबीचको असमानताविरुद्ध सामाजिक परिवर्तनको आन्दोलन तथा कृषि क्रान्तिमासमेत नेतृत्वदायी भूमिका स्वर्गीय अर्यालले निर्वाह गर्नुभएको थियो । स्याङ्जा जिल्लाकै पहिलो विद्यालयका रुपमा विसं २०१० वैशाख ११ गते उक्त विद्यालय स्थापना गरिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>