चितवन विशेष

भरतपुरमा समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम : गतवर्ष १६ हजार भन्दा बढीले लिए सेवा

Banner

पुजा ढकाल
चितवन, वैशाख १५-

भरतपुर महानगरपालिकाको ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’बाट वि.स. २०८० सालमा १६ हजार भन्दा बढीले सेवा लिएका छन् । मंसिर ३० गते भरतपुर–२४ बाट सुरु भएको कार्यक्रम फागुन ५ गते सम्म २९ वटै वडामा पुगेको थियो । जसबाट १६ हजार ९७१ जना महानगरवासी लाभान्वित भएका हुन् ।

जनशक्ति तथा साधन स्रोतको अभावले दुई चरणमा विभाजन गरेर प्रत्येक वडामा तीन दिन दुई जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । महानगरका सबै वडामा जम्मा १६१ स्वास्थ्यकर्मी खटाइएको महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए । उनका अनुसार उक्त स्वास्थ्यकर्मीहरुको पहुँचमा आएका ६८ वर्ष भन्दा तलका अपाङ्गता भएका व्यक्ति ६८१ (४.०१ प्रतिशत), ६८–७९ उमेर समूहका ११ हजार ४१५ (६७.२७ प्रतिशत) र ८० भन्दा बढी उमेर समुहका ४ हजार ८७५ (२८.७२ प्रतिशत) रहेका हुन । जसमा ७ हजार ५७० (४४.५ प्रतिशत) पुरुष र ९ हजार ४११ (५५.४ प्रतिशत) महिला रहेका छन् ।

यसरी सेवामा आउने दलित १२ हजार २०, जनजाती ५ हजार ५३९, मधेसी ६१, मुस्लिम ३१, ब्रामण÷क्षेत्री ९ हजार ९२४ र अन्य १९६ जना मध्ये ६०.२ प्रतिशत बिरामी र ३९.८ प्रतिशतमा कुनै रोग नदेखिएको उनले जानकारी दिए । जसको ५७.५ प्रतिशतले औषधी सेवन गर्दा र ४०.८ प्रतिशतले औषधी सेवन गर्दैनन् ।

त्यस्तै भट्टका अनुसार सबैभन्दा धेरै सेवा लिनेमा भरतपुरको ११ नम्बर वडा रहेको छ । यस वडाबाट जम्मा १ हजार १७६ (६.९ प्रतिशत) जनाले सेवा लिँदा वडा नम्बर ३ बाट २२९ (१.३ प्रतिशत), २४ वडा नम्बर २४ बाट २६८ (१.६ प्रतिशत), वडा नम्बर २८ बाट २७५ (१.६ प्रतिशत) र वडा नम्बर २९ बाट २८६ जना (१.७ प्रतिशत)ले सेवा लिएका हुन् ।

यसरी सेवा लिन आएकाहरु मध्ये ७ हजार ३८० जनामा सामान्य रक्तचाप, ३ हजार ८९२ जनामा प्रि–हाइपरटेन्सन, २ हजार २५० जनामा पहिलो चरणको हाइपरटेन्सन, १ हजार ४४५ जनामा दोस्रो चरणको हाइपरटेन्सन, १ हजार ५५७ जनामा तेस्रो चरणको हाइपरटेन्सन देखिदा ४३१ जनाले कुनै प्रतिक्रिया नदिएको र १६ जनाले परिक्षण नै नगरेको अधिकृत भट्टले जानकारी दिए ।

यसरी सेवामा आउनेहरुमा जम्मा ७ हजार ५३२ जनामा हाइपरटेन्सन, १ हजार १९ जनामा कार्डियोभास्कुलर, १२७ जनामा मिर्गौला, २ हजार ६९७ जनामा मधुमेह, १ हजार ४१६ जनामा आस्थामा, ६५ जनामा क्यान्सर, ९४६ जनामा हाइपो ÷ हाइपर थाइरोइडिज्म र २१८ जनामा विपिएच जस्ता रोगहरु देखा परेको उनले जानकारी दिए ।

तथ्यांक सार्वजनिक कार्यक्रममा समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमका विज्ञ डा भोजराज अधिकारीले अस्पताल आउने व्यक्तिको संख्या १० प्रतिशत रहेपनि ९० प्रतिशत घरमै रहेकोले यो कार्यक्रम संचालन गरिएको बताए । उनका अनुसार महानगरपालिकाले जेष्ठ नागरिकको सम्मान, तथ्यांक लिन सहज, समाजमा रहेर दिएको योगदानसँगै रोग बोकेर हिड्ने व्यक्ति जेष्ठ नागरिक भएकोले ६८ वर्ष भन्दा माथीका उमेर समूहका व्यक्तिलाई प्राथमिकतामा राखेको हो । उनले अब महानगरपालिकाले मोबाइल हेल्थ क्लिनिक संचालन गर्नुपर्ने, हेल्थ क्यालेन्डर बनाउनुपर्ने र अस्पताल आउने बिरामी मध्य सबै भन्दा धेरैमा कुन रोग देखा परेको छ भनेर तथ्यांक राख्न पर्ने सुझाव दिए ।

महानगरपालिकाकी मेयर रेनु दाहालले कार्यक्रमको समापन गर्दै आगामी दिनमा आएका सुझाव सल्लाहलाई मध्यनजर गरेर दुरदराजमा रहेका व्यक्तिलाई स्वास्थ्यको पहुचमा ल्याउँदै अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>