अर्थ

उद्योगी भन्छन्ः चितवनमा ३० प्रतिशत उद्योग बन्द, बाँकी ४० देखि ५० प्रतिशत मात्र सञ्चालनमा छन्

Banner

चितवन, वैशाख ११-

चितवनमा ‘दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती’ विषयक सेमिनार सम्पन्न भएको छ ।

औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१अन्तर्गत सोमबार चौथो दिन सो कार्यशाला भएको हो ।

चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले बिगतका केही वर्षदेखि उद्योग, व्यवसायको क्षेत्रमा शिथिलता रहेको बताए । कुलग्राह्स्थ उत्पादनमा १६ प्रतिशतसम्म योगदान रहेको उद्योग क्षेत्रबाट कुल ग्राह्स्थ उत्पादनमा बिगतका केही वर्षदेखि ५ प्रतिशतको हाराहारीमा मात्र योगदान हुनुले स्वदेशमै गरी खान्छु भनी लागेका उद्योगीहरु समेत बिस्थापित हुने अवस्थामा रहेको बताए ।

कोभिडले थलिएको अर्थतन्त्र तङ्ग्रन नपाउँदै विश्वमा फैलिएको आर्थिक मन्दीको लहरको प्रभाव नेपालमा पनि परेसँगै करिब ३० प्रतिशत उद्योगहरु बन्द भइसकेका छन् भने सञ्चालनमा रहेका उद्योगहरु पनि ४० देखि ५० प्रतिशतको क्षमतामा मात्र सञ्चालित रहेको उनले जानकारी दिए । उनले भने, ‘उपभोग गर्ने मुख्य उमेर समूहका ३० प्रतिशतको हाराहारीमा जनसंख्या रोजगारीको नाममा बिदेशिएका छन् ।’
न्यौपानेले अनुदानका नाममा कागजमा उद्योग व्यवसाय देखाएर अनुदान लिने प्रवृत्तिलाई निरुत्साहित गर्न उत्पादन परिमाणका आधारमा जारी बिक्री बिललाई आधार बनाउनुपर्ने, धितो कर्जाको लागि अचल सम्पत्ती जोड्नुपर्ने बाध्यताले चालु पूँजी जग्गा खरिदमा खर्चेका कारण उद्योग, व्यवसायमा चालु पूँजीको अभाव भइरहेकाले परियोजना कर्जालाई उच्च प्राथमिकता साथ लगानी गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कृषि क्षेत्रका उद्योगीले सहुलियतपूर्ण कर्जाको सुविधा प्रयोग गरेको भएता पनि बिगत डेढ वर्षदेखि बैँकहरुले ब्याजको रकम फिर्ता नगरेको न्यौपानेले बताए । उनले भने, ‘सहज परिस्थिति हुँदा लिएको कर्जाको ब्याजको भार अहिलेको विषम परिस्थितिमा सामना गर्नु परिरहेको छ । क्षतिपूर्ति दाबीका लागि झन्झटिलो प्रक्रिया र क्षति नपाउने अवस्थाले उद्योगीहरु प्रताडित छन् ।’

त्यसैगरी न्यौपानेले प्रदेश सरकारको इआईएको नाममा उद्योगीले वर्षौदेखि समस्या भोगिरहनु परेको, छिटो छरितो रुपमा उक्त कार्य सम्पन्न गराउने व्यवस्थाको लागि प्रदेश सरकार गम्भीर हुन नसकेको आरोप लगाए । देशभरका स्थानीय पालिकाहरुमा उद्योग ग्राम बनाउने सरकारको बिगतको नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरिएको भएता पनि कुनै पनि पालिकामा उद्योगग्रामको सञ्चालन हुन नसकेको विषयमा उनले आफ्ना धारणाहरु राखेका थिए ।

आर्थिक पत्रकार एवम् कान्तिपुर दैनिकका बरिष्ठ उप सम्पादक यज्ञ बन्जाडे मध्यस्तकर्ता रहेको सेमिनारको मुख्यवक्ताको रुपमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, प्रा.डा.गोविन्दराज पोखरेलले ‘वर्तमानआर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्न सरकारी तथा निजी क्षेत्रबाट खेल्नुपर्ने भूमिका’ को विषयमा भर्चुअल माध्यमबाट आफ्नो भनाइ राखेका थिए ।

सेमिनारको प्यानलिष्टको रुपमा रहेका बागमती प्रदेश, नीति तथा योजना आयोग, उपाध्यक्ष डा.नरविक्रम थापाले ‘बागमती प्रदेश सरकारको औद्योगिक नीति तथा वर्तमान समयमा सुस्ताएको आर्थिक गतिविधि चलायमान गर्न प्रदेश सरकार तथा निजी क्षेत्रबाट खेल्नुपर्ने भूमिका’, नेपाल राष्ट्र बैँकका नेपाल राष्ट्र बैंकका बैंक तथा बित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलले ‘वर्तमान आर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्न नेपाल राष्ट्र बैँकले खेलिरहेको भूमिका र आगामी कार्ययोजना’, नेपालउद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भर्चुअल माध्यमबाट ‘वर्तमान आर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले गरेको प्रयास र तीनै तहका सरकारसँगको अपेक्षा’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए । सेमिनारमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले ‘स्थानीय सरकारको औद्योगिक नीति, स्थानीय स्तरमाऔद्योगिक विकासको लागि स्थानीय सरकारले खेलिरहेको भूमिका र प्रदेश तथा संघीय सरकारसँग अपेक्षित कानून’ सम्बन्धित शीर्षकमा रहेर आफ्ना धारणाहरु राखेका थिए ।
सेमिनारमा उपस्थिति सहभागीले आफूहरुलाई लागेका जिज्ञासाहरु राखेका थिए । प्राप्त जिज्ञासाको आधारमा सम्बन्धित क्षेत्रका व्यक्तिबाट सम्बोधन गरिएको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गरेको सेमिनारको चितवन उद्योग संघका उपाध्यक्ष एवम् औद्योगिक नीति निर्माण समन्वय तथा अनुसन्धान विभागका विभागीय प्रमुख गोपालप्रसाद गैरेले धन्यवाद मन्तव्य राखेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>