Breaking News

अन्तर प्रदेश खेलकुदः पुरुष क्रिकेटमा गण्डकी र कर्णाली सेमीफाइनलमा प्रवेश

Banner

चितवन, चैत २६–

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष क्रिकेटमा गण्डकी प्रदेश र कर्णाली प्रदेश सेमीफाइनलमा प्रवेश गरेका छन् ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको पहिलो खेलमा बागमती प्रदेशलाई ३२ रनले पराजित गर्दै गण्डकीले सेमीफाइनल स्थान पक्का गरेको हो । गण्डकीले दिएको २३५ रनको विशाल लक्ष्य पछ्याएको बागमती निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०२ रन मात्रै बनाउन सक्यो ।

बागमतीका लागि रोविन जोशीले अविजित ६८ रनको पारी खेले । ३३ बल खेलेका रोविनले ९ चौका र ३ छक्का प्रहार गरे । तिलकराज भण्डारीले १७ बलमा ३७ रन बनाए । ४ छक्का र २ चौका प्रहार गरे । शुभ कंशकारले २६ बलमा ३७ रन बनाए भने उत्तम थापा मगरले २५ रन बनाए ।

गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान २–२ विकेट लिए । कमल परियार र सन्दीप खत्रीले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले दिपक डुम्रे र अर्जुन कुमालको अर्धशतकीय पारीमा ६ विकेटको क्षतिमा २३४ रनको विशाल योगफल तयार पारेको थियो । दीपक डुम्रेले सर्वाधिक ३१ बलमा ७५ रन बनाए । उनले ८ छक्कार ३ चौका प्रहार गरे । अर्जुन कुमालले ३२ बलमा २ छक्का र ५ चौकाको मद्धतमा ५५ रन बनाए । गण्डकीले २९ रनको अवस्थामा पहिलो विकेटको रुपमा ओपनर इश्वर क्षेत्रीलाई गुमाएको थियो ।

त्यसपश्चात क्रिजमा आएका दीपक डुम्रे र अर्का ओपनर अर्जुन कुमालले १०१ रनको शतकीय साझेदारी गरेका थिए । गण्डकीको दोस्रो विकेटको रुपमा क्रिजन गुरुङको बलमा दीपक बोल्डआउट भएका थिए । यस्तै सन्दी खत्रीले १२ बलमा २७ र करण पंगेनीले २४ रन बनाए ।

बागमतीका लागि रिजन ढकाल र कृजन गुरुङले समान २ विकेट लिएका थिए भने दीपेश श्रेष्ठ र सोनु देवकोटाले समान एक–एक विकेट लिए । गण्डकीका दीपक डुम्रे प्लेयर अफ दि म्याच भए ।

यस्तै आजै भएको दोस्रो खेलमा विजयी हुँदै कर्णाली प्रदेश सेमीफाइनलमा प्रवेश गरेको छ ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको दोस्रो खेलमा कोशी प्रदेशलाई १० रनले पराजित गर्दै कर्णालीले सेमीफाइनल गण्डकी प्रदेशसंगको भिडन्त पक्का गरेको हो । कर्णालीले दिएको २०९ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९८ रन मात्रै बनाउन सकेपछि कर्णाली १० रनले विजयी भएको हो । कोशीका लागि ओपनर मिनस थापाले ८५ रनको विष्फोटक पारी खेलेपनि टिमलाई जिताउन सकेनन् । उनले ४६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे । अर्का ओपनर अंकित सुवेदी २५, समिर कार्की २३ र श्रवण यादव १९ रनमा अविजित रहे ।

कर्णालीका लागि दिवन पुनले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिए भने दिपेन्द्र रावतले ४ ओभरमा ४२ रन खर्चिदै २ विकेट लिए । दिनेश अधिकारीको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले विपिन रावलको अर्धशतकीय पारीको मद्धतमा २०८ रनको विशाल योगफल तयार पारेको थियो । विपिन ३५ बलमा ५४ रनमा अविजित रहे । उनले ४ छक्का र २ चौका प्रहार गरे । अर्जुन घर्तीले २२ बलमा ४ छक्का र एक चौकाको मद्धतमा ४२ रनको विष्फोटक पारी खेले भने ओपनर रविन्द्र शाहीले २२ बलमा ३७ रन बनाए ।

कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठ र श्रवन किसकुले समान २–२ विकेट लिए भने फिर्दोस अन्सारीले एक विकेट लिए । कर्णालीका विपिन रावल प्लेयर अफ दि म्याच भए । अब सेमीफाइनलमा भोलि गण्डकी र कर्णाली भिड्ने भएका छन् । नकआउट चरणको यस प्रतियोगिताको समूह ‘ए’ बागमती, गण्डकी, कर्णाली र कोशी रहेका छन् भने समूह ‘बी’मा लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । सुदूरपश्चिम बाई पाएर सिधै सेमीफाइनल पुगेको छ भने लुम्बिनी र मधेशको विजेताले सेमीफाइनलमा सुदूरपश्चिमसंग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>