Breaking News

चितवनमा वायु प्रदूषणले आँखाका बिरामी बढे, दैनिक ३०० बढी थपिँदै

Banner

पूजा ढकाल

चितवन, चैत २८-

चितवनमा आँखा पोल्ने तथा बिझाउने समस्या भएका आँखाका बिरामी बढेका छन् ।

पछिल्लो एक साताको अवधिमा चितवन आसपासको वायुमण्डलमा धुवाँ र धूलोले वायु प्रदूषित हुँदा आँखाका बिरामी बढेका हुन् ।

पछिल्लो एक हप्तामा भरतपुर आँखा अस्पतालमा आँखाको उपचार गर्न आउने बिरामीको संख्या १० देखि १५ प्रतिशतले बढेको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । उनका अनुसार अन्य दिन बहिरंग विभागमा आँखाको उपचार गर्न आउने बिरामीको संख्या ६०० थियो । तर, आइतबार भने अस्पतालमा आँखा उपचार गर्न आउने बिरामीका संख्या बढेर ९०० पुगेको हो । यो संख्या दैनिक उपचार गर्न आउने संख्या भन्दा ३०० ले बढी हो र यो बढ्दो क्रममा छ । उनले सामान्य गरी चैतदेखि असोज महिनामा जिल्लामा आँखाका बिरामी बढे पनि पछिल्लो एक हप्तामा वायु प्रदूषणका कारण आँखा पोल्ने बिरामीको संख्यामा वृद्धि भएको बताए ।
उनले भने, ‘देशका विभिन्न स्थानमा डढेलो लागेको छ । जसको कारण आँखा पोल्ने, बिझाउने, च्यापच्याप हुने जस्ता समस्या लिएर बिरामी अस्पताल आउने गरेका छन् । यो समस्या मुख्य गरी बाहिर काम गर्ने मानिसमा बढी देखिएको छ । ’

अस्पतालका चिकित्सकहरुका अनुसार यस्तो समस्याबाट बच्न पटकपटक आँखा सफा गरेर आँखालाई चिसो बनाएर बाहिर हिड्दा चस्माको प्रयोग गर्नुपर्ने सल्लाह दिइएको छ ।  त्यस्तै आँखामा औषधिको प्रयोग गर्दा पनि समस्या धेरै भए अस्पताल गएर उपचार गर्न सुझाव दिएका छन् ।


सूचना अधिकारी घिमिरेको अनुसार यो समयमा गर्मी बढी हुने हुँदा आँखा पाक्ने, आँखामा आँशुको मात्रा कम हुदा सुक्का हुने, धेरै उज्यालो तथा घाममा हेर्दा आँखा पोल्ने, आँखामा मासु पलाउने जस्ता समस्या पनि देखा पर्ने गर्छ ।

रत्ननगर नगपिालिका–१२ का दिपम पन्तले दैनिक रुपमा बढ्दै गएको वायु प्रदूषणले आँखा पोल्ने समस्या देखा परेपछि अस्पतालमा आँखा उपचार गर्न आएको जानकारी दिए । उनका अनुसार उनले आफूले पनि आँखाको सुरक्षाको लागि पटकपटक आँखा सफा गर्ने चस्मा लगाउने, औषधि हाल्ने गरेका छन् ।
त्यस्तै भरतपुर महानगरपालिकाकी सुस्मिता ढकालले पछिल्लो दुई दिनदेखि आँखा पोल्ने, आँशु बग्ने समस्या देखा परेपछि उपचारको लागि अस्पताल आएको बताइन् । उनले भनिन्, ‘पहिला मलाई यस्तो समस्या देखा परेको थिएन । तर, जिल्लामा प्रदूषण बढ्दै जाँदा स्वास्थ्यमा विभिन्न समस्या देखा परेको छ । ’ यसरी दैनिक रुपमा प्रदूषण बढ्दा थप जटिल अवस्था आउन सक्ने भन्दै उनले पटकपटक आँखा सफा गर्न, औषधिसँगै चस्माको प्रयोग गर्न सुझाव दिएकी छन् । बुधबार अस्पताल पुगेका अधिकांश बिरामीहरु प्रदूषण बढेर आँखाको समस्या बढेकोमा चिन्तित देखिन्थे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>