अर्थ

नारायणीको बोट कम्पनीले चार करोड लगानी थप्यो, मस्र्याङ्दी जलाशयमा जलयात्रा सुरु हुँदै

Banner

चितवन, चैत २८-

चितवनको नारायणी किनार र देवघाटमा बिगत चार वर्षदेखि सञ्चालित बोटे बोरा कम्पनीले आँबुखैरेनीको मस्र्याङ्दी जलाशयमा डुङ्गा (बोट) सञ्चालन गर्ने भएको छ ।

आबुँखैरेनी गाउँपालिकाले गरेको बोलपत्र आव्हानमा कम्पनी छनोट भएपछि वैशाख २ गतेबाट पाँचवटा डुङ्गा सञ्चालन गर्ने तयारी गरेको हो । देशभर सञ्चालित पर्यटन क्षेत्रका झण्डै एक दर्जन कम्पनीहरुमा लगानी गरेको डिकेड इन्टरनेशनलको एउटा कम्पनी बोटे बोरा हो ।

कम्पनीका सञ्चालक विष्णुबहादुर ढकालले वैशाख २ गते उर्जा मन्त्री शक्ति बस्नेतको हातबाट मस्र्याङ्दी जलाशयमा जलयात्रा उद्घाटन गर्ने तयारी रहेको नारायणी अनलाइनलाई बताएका छन् । कम्पनीले बोट र रिसोर्ट गरी सबै संरचनाको निर्माणमा चार करोड लगानी थप्दै छ । कम्पनीले जलविद्युत् केन्द्रको जलाशयमा डुङ्गा यात्रा गराउन समय अनुसार २५० रुपैयाँदेखि १००० रुपैयाँसम्म लिने तयारी गरेको छ ।

कम्पनीले जलाशयको वरिपरी तीन करोड लगानीमा बीच रिसोर्ट चलाउन जग्गा लिने प्रक्रिया सुरु गरेको छ । त्यस्तै जलाशयमा पानीको तह १२ फिट तल माथि हुने भएकोले कम्पनीले पोर्ट बनाइरहेको निर्देशक ढकालले बताए । कम्पनीले चिया, कफी स्टेशनको लागि आवश्यक संरचना निर्माण गरेको छ । ढकालकै अर्काे कम्पनी ‘नेपाल सिप एण्ड बोट बिल्डिङ’ कम्पनीले एक करोड लगानीमा डुङ्गा निर्माण गरेको ढकालले बताए ।

कम्पनीले यसअघि चितवनसहित सर्लाहीको भरतताल, नेपालगञ्जको वाटरपार्कलगायत क्षेत्रमा जलयात्राको सेवा दिँदै आइरहेको छ । यसले आबुँखैरहनी पर्यटकीय केन्द्र बनाउने लक्ष्य अनुसार गाउँपालिकाले डुङ्गा सञ्चालनको काम थालनी गरेको हो । सुर्खेतको बुलबुल तालमा पनि यसै कम्पनीले डुङ्गा सञ्चालनको तयारी गरेको कम्पनी सञ्चालक ढकालले जानकारी दिए । डिकेड इन्टरनेशनलले पोखरामा हट बेलुन उडाउनुको साथै दुर्गम गाउँमा स्याटलाइट इन्टरनेट बितरण गर्नुका साथै सुजुकी मरिनको पनि बितरण गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>