Breaking News

अन्तर प्रदेश राष्ट्रिय खेलकुदः सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा

Banner

चितवन, चैत २६–

सुदूरपश्चिम प्रदेश प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको दोस्रो सेमीफाइनलमा लुम्बिनी प्रदेशलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधिका लागि कोशी प्रदेशसंगको भेट पक्का गरेको हो । सुदूरपश्चिमले दिएको १८६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ९ विकेटको क्षतिमा ७५ रन मात्रै बनाउन सक्यो । उसका लागि रञ्जु श्रेष्ठले १५, सरस्वती पुनले १३ र लक्ष्मी चौधरीले १० रन बनाइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ४ ओभरमा १२ रन खर्चिदै २ विकेट लिइन् भने कविता कुवँर, कविता जोशी, राधिका पुजारा, स्नेहा महरा र रितु कनौजियाले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४ विकेटको क्षतिमा १८५ रनको बनाएको थियो । उसका लागि बिन्दु रावल र सम्झना खड्काले अर्धशतकीय पारी खेले । बिन्दुले ४९ बलमा ७ चौका र एक छक्काको मद्धतमा ६४ रन बनाइन् भने सम्झनाले २६ बलमा ८ चौकाको मद्धतमा अविजित ५१ रन बनाइन् । रेवती धामीले २७ रनको योगदान दिइन् ।

लुम्बिनीका लागि सरस्वती पुनले एक विकेट लिइन् । खेलमा सुदूरपश्चिमकी बिन्दु प्लेयर अफ दि म्याच भइन् । खेलकुद विकास परिषद् बागमतीको आयोजनामा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनल खेल भोलि कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ । महिला क्रिकेट गत शनिबारदेखि नै सुरु भएको थियो भने पुरुष क्रिकेट बुधबारदेखि सुरु हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>