चितवन विशेष

चितवनको गोलाघाटमा नयाँ वर्ष विशेष कार्यक्रम, पर्यटकलाई ३० प्रतिशतसम्म छुट

Banner

चितवन, चैत २४-

नेपाली नयाँ वर्षको अवसरमा चितवनको मेघौली गोलाघाटमा नयाँ वर्ष विशेष कार्यक्रम गरिने भएको छ ।

गोलाघाट पर्यटन विकास समिति, मेघौली पर्यटन विकास समिति र होटल व्यवसायी संघ मेघौली इकाइको संयुक्त आयोजनामा नयाँ वर्ष २०८१ लाई स्वागत गर्न लागिएको हो ।

होटल व्यवसायी संघ मेघौली इकाइका अध्यक्ष सन्देश चपागाइँको अनुसार चैत ३० गते साँझ चल्ने नयाँ वर्ष विशेष कार्यक्रममा चितवनको स्थानीय व्याण्ड इराजले आफ्नो प्रस्तुति दिनेछ भने अन्य राष्ट्रिय कलाकारहरुलाई पनि निमन्त्रणा गरिने भएको छ ।

नयाँ वर्षको स्वागतस्वरुप चैत ३० गते मध्यरातसम्म चल्ने कार्यक्रममा मदिरालगायत प्याकेजिङ खाना एमआरपी मूल्यमै उपलब्ध गराइने भएको छ भने १५ देखि ३० प्रतिशत खाना तथा बेडमा छुट हुनेछ । कार्यक्रमलाई भरतपुर महानगरपालिका २७ र २८ नम्बर वडा, मध्यवर्ती सामुदायिक वनको सहयोगमा स्थानीय थारु त्था कुमाल संस्कृतिका विभिन्न झाँकीहरु प्रस्तुत गरिने भएको छ । नयाँ वर्ष विशेष कार्यक्रमले भरतपुर महानगरको भ्रमण वर्षलाई पनि सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल मेघौली गोलाघाट भरतपुरको चौबीसकोठीबाट ३२ किलोमिटरको दुरीमा पर्छ । गोलाघाटमा विषेश गरेर वाइल्ड लाइफ (वन्यजन्तु) हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जंगल र दुई नदीको संगम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिएर अगाडि बढ्छन् र यहाँ गोलाघाटमा सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा पर्यटक आउने गर्दछन् ।

फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवम् भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्तको शानदार दृश्य देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल चितवनको कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिंगे गैँडा, मृग, चित्तल, गोही पनि यहाँको आकर्षणको केन्द्रबिन्दु रहेको छ । यस क्षेत्रमा गैँडालगायत जंगली जनावर किनारमा चर्दै गरेको र पानी खान आएको देख्न पाइन्छ । यस क्षेत्रमा साना–ठूला गरेर दुई दर्जनभन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन । यहाँ स्तरीय होटलसँगै होमस्टे पनि सञ्चालनमा छन् । मेघौलीमा थारू जातिको पुराना संस्कृतिलाई जोगाउनसंग्रहालय बनाइएको छ । कुमाल सङ्ग्रहालय, कल्चर हाउस, पर्यटन सूचना केन्द्र, राइनो पार्कलगायतका पर्यटकीय संरचना यस क्षेत्रमा रहेका छन् । गोलाघाट संस्कृतिको पनि धनी क्षेत्र हो । यहाँ कुमाल, थारू, तामाङ समुदायको बहुल्यता रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>