कृषि

कृषिमा प्रयोग हुँदै आएका परम्परात औजार हराउन थाले

Banner

कञ्चनपुर, चैत १७-

परम्परागत रुपमा कृषि कार्यमा प्रयोग हुँदै आएका औजारहरु हराउँदै जान थालेका छन् । कृषिको उत्पादकत्व बढाउनका लागि आधुनिक यन्त्र र मेसिनको प्रयोग बढ्न थालेपछि परम्परागत कृषिमा प्रयोग हुने सामान हराउँदै जान थालेका हुन् ।

खेत जोत्नका लागि पावर टिलर, ट्र्याक्टर, चुटनका लागि थ्रेसरको प्रयोग हुन थालेपछि किसानले गोरु, राँगालगायत पशुचौपाया पाल्नै छाडेका छन् । “परापूर्वकालदेखि गोरु र राँगाबाट नै खेत जोत्ने कार्य हुँदै आएको थियो,” शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका ६७ वर्षीय गिरिराज डगौराले भन्नुभयो, “गोरु पाल्ने कार्य नै छाडेपछि पुराना कृषि कार्यमा प्रयुक्त हुने सामान हराउने नै भए ।” गोरु, राँगा पाल्नेसहित जोत्नका लागि हलो, जुवा, केलवाई, हेङ्गा महत्वपूर्ण सामान हराउँदै जान थालेको उहाँले बताउनुभयो ।

हलो जुवामा अड्काउनका लागि प्रयोग हुने हलौडो (नाधा) छालाबाट बनेको हुन्थ्यो भन्दै उक्त हलौडो पाउन छाडेपछि डोरीको प्रयोग हुन थालेको भगतराम लुहारले बताउनुभयो । “बारीमै लगाएको जुटबाट गोरु बाँध्न डोरी बनाइन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले जुट लगाउन छाडेपछि बजारबाट प्लास्टिकका डोरीलाई प्रयोगमा ल्याउन थालिएको छ ।”

“धान, गहुँ, मसुरोलगायत बाली खेतबाट आँगनमा ल्याएर गोरुबाट दाइँ लगाउने कार्य हुन्थ्यो, त्यो पनि हट्दै जान थालेको छ”, बेलडाँडीका पर्शुराम डगौराले भन्नुभयो, “तोरी पेल्नका लागि अहिलेको जस्तो मिलहरु थिएनन्, काठको कोल्हु बनाएर घुमाउँदै तोरी पेल्ने कार्य हुन्थ्यो, काठको कोल्हुमा तोरी पेल्ने चलनबाट दशकअघि देखि नै हराएको छ ।”

पर्शुरामका अनुसार पहिला महिलाले बिहान उठेर ओखल र ढिकीमा धान कुट्ने गर्दथे भने पुरुषले त्यही बेला खेतमा गोरु लगेर जोत्ने कार्यमा लागिसकेका हुन्थे । श्रम गर्ने बानीकै कारण पहिलाका मानिस शारीरिक रुपमा तन्दुरुस्त हुने गरेका उहाँको भनाइ छ ।

खेतबारीमा काम गर्दा शारीरिक व्यायम हुने, अर्गानिक स्वाच्छ खाना खाने बानीका कारण पहिला अहिलेको जस्तो रोगव्याधिको समस्या नभएको पर्शुरामले बताउनुभयो । “खेतमा उत्पादित अन्नबाली काटेपछि गोरुको सहायताले गाडामा बोक्ने कार्य हुन्थ्यो । त्यस कार्यले अहिले जस्तो प्रदूषणको समस्या पनि थिएन”, उहाँले भन्नुभयो ।

कृषिमा प्रयोग हुने पुराना सामानले कार्य गर्दा ढिलो हुने भए पनि अहिलेको जस्तो अरूको मुख ताक्नुपर्ने अवस्था नभएको पर्शुरामको भनाइ छ । उहाँका अनुसार आफैँले काम गर्ने प्रवृत्तिका कारण प्रायः सबै किसान आत्मनिर्भर थिए ।

“अहिले डिजेल, पेट्रोल नपाइए खेत जोत्न पाइँदैन, खेतमा काटेको अन्नबाली भित्र्याउन सकिँदैन, खेतमा सिँचाइका लागि पनि अरुकै मुख ताक्नुपर्छ”, पर्शुरामले भन्नुभयो । मेसिन र औजार बिग्रिए पनि त्यतिकै समस्या हुने गरेको उहाँको भनाइ छ ।

पहिला घरमै कृषि कार्यका लागि प्रयोग हुने सामान निर्माण गर्न र मर्मत गर्न सकिने भएकाले अहिलेको जस्तो झन्झट नहुने पीपलाडीका रामबहादुर डगौराले बताउनुभयो । “अहिले कृषि औजार र यन्त्रका लागि परनिर्भर भएका छौँ,” उहाँले भन्नुभयो, “पुरानो कृषि पद्धतिमा किसान सबै कुरामा आत्मनिर्भर थिए ।” पुराना कृषि औजारलाई समय अनुकूल बनाई प्रयोगमा ल्याउनुपर्नेमा त्यो हुन नसक्दा ओझेलमा पर्दै गएको रामबहादुरले बताउनुभयो ।

“अहिले जस्तो रासायनिक मल र विषादीको प्रयोग नभई कृषिमा पहिला घरकै गोबरमलको प्रयोग हुन्थ्यो । यसले गर्दा उत्पादन भएको अन्न, तरकारीलगायत स्वास्थ्यवद्र्धक थिए”, आशिष चौधरीले भन्नुभयो, “अहिले अन्नबाली, तरकारी र फलफूलमा विषादीको प्रयोग हुने गरेको छ, त्यसले नसर्ने किसिमका गम्भीर रोगहरु निम्त्याउन थालेको छ ।” पुरानो कृषि पद्धतिलाई जोगाउनका लागि स्थानीय तहले अग्रसर हुनुपर्ने यस क्षेत्रका कृषि विज्ञहरु बताउँछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area