Uncategorized

पत्रकारितालाई एआईले बिस्थापित गर्न सक्दैनः कार्यकारी अध्यक्ष झा

Banner

नवलपुर, चैत १०-
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सही अर्थमा पत्रकारिता गर्नेलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले असर पुर्याउन नसक्ने धारण राख्नुभएको छ ।

एम्नेस्टी इन्टरनेशनल नेपालको आयोजनामा आज यहाँ सम्पन्न ‘तीव्ररूपमा अगाडि बढिरहेको प्रविधिको सन्दर्भमा मानवअधिकारमा आधारित पत्रकारिता’ राष्ट्रिय कार्यशालामा कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “एआई आफैँ फिल्डमा जान सक्दैन, एआईसँग सिर्जनशिलता र भावना पनि हुँदैन । तर पत्रकारसँग यी सबै गुण हुने भएकाले एआईले पत्रकारिता पेशालाई विस्थापित गर्न सक्दैन ।”

नेपालका पत्रकारले मानवअधिकारका क्षेत्रमा पुर्याएको योगदानलाई मानवअधिकारका क्षेत्रमा काम गर्ने संस्थाले सम्बोधन गर्न नसकेको उहाँको भनाइ थियो । नेपालमा मानवअधिकारको विषयलाई मानवअधिकारकर्मीपछि पत्रकारहरूले नै उठाउने गरेका स्मरण गर्दै उहाँले सामाजिक न्याय पाउनुपर्छ भनेर पत्रकारले नै विषय उठाउने गरेको उल्लेख गर्नुभयो ।

उहाँले पत्रकारहरुलाई मानवअधिकारप्रति प्रतिबद्ध भएर समाचार लेखन आग्रह समेत गर्नुभयो । पत्रकारिता नगरी पर्चाकारिता गर्नेहरु धेरै नटिक्ने भन्दै उहाँले पत्रकारले आफूलाई दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले एआईको सामना गर्दै पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “पत्रकारितामा एआईको प्रयोग बढ्दो छ । हामीमा आलोचनात्मक चेत र स्थलगत रिपोर्टिङको सीप भए पत्रकारितालाई एआईले हानी पुर्याउन सक्दैन ।”

मानवअधिकारका क्षेत्रमा पत्रकारको भूमिका सशक्त हुने उल्लेख गर्दै पोखरेलले सामाजिक न्यायका लागि पत्रकारको उपस्थिति सशक्त, सक्रिय र जीवन्त हुनुपर्नेमा जोड दिनुभयो । “मीठा कुरा गरेर शासकले गलत फाइदा उठाउने प्रयास गरिरहेका हुन्छन्”, उहाँले भन्नुभयो, “पत्रकारिता सधैँ सचेत भएर त्यस्ता गलत प्रवृत्तिविरुद्ध खबरदारी गर्नुपर्छ ।” जनतालाई मानवअधिकारको प्रत्याभूति दिलाउन पत्रकारको भूमिका सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले तालिममा सातवटै प्रदेशबाट मानवअधिकार र सामाजिक न्यायका विषयमा कलम चलाउने ५० पत्रकारहरुको सहभागिता रहेको बताउनुभयो । नयाँ प्रविधिले पत्रकारिता पेसामा थपिएको चुनौती र यसले मानवअधिकारका क्षेत्रमा पार्ने प्रभावबारे छलफल गरिएको भन्दै उहाँले कार्यशालामा सिकेका विषयवस्तुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।

एम्नेस्टी इन्टरनेशनल नेपालका कार्यकारी निर्देशक निराजन थपलियाले मानवअधिकारको मर्म, लैङ्गिक संवेदनशीलताको विषयबारे सहजीकरण गरिएको बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा राससका कार्यकारी अध्यक्ष झा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष पोखरेल, डिजिटल मिडिया अनुसन्धानकर्ता रजनेश राजभण्डारी, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, सञ्चारिका समूहकी पूर्वअध्यक्ष बविता बस्नेत, वरिष्ठ मानवअधिकारकर्मी शोभाकर बुढाथोकी, राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेल, एम्नेस्टी इन्टरनेशनल नेपालका कार्यकारी निर्देशक निराजन थपलिया र एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानवअधिकार, पत्रकारितामा प्रविधि, लैङ्गिक संवेदनशीलता विषयमा प्रशिक्षण दिनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>