Breaking News

इण्डो–नेपाल टी–२० च्याम्पियनसीपः लखनउँ र सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

Banner

चितवन, चैत ९–

चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतको पीएसआर ग्रुप लखनउँ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको पहिलो खेलमा लखनउँले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

लखनउँले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको भरतपुर ९ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो । घरेलु टोलीका लागि कप्तान दिपेश श्रेष्ठले सर्वाधिक ३२ रन बनाए भने रोशन झाले ३१ र विकल कुमार गुप्ताले २१ रन बनाए ।
लखनउँका लागि कार्तिक यादवले ४ ओभरमा ८ रन मात्रै खर्चिदै २ विकेट लिए भने शरिमले ४ ओभरमा १३ रन खर्चिदै २ र प्रिन्स साहीले ४ ओभरमा २५ रन खर्चिदै २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पीएसआर ग्रुप लखनउँले २ खेलाडीको अर्धशतकको मद्धतमा ९ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार पारेको थियो । लखनउँका लागि निखिल रावले ६९ रनको विष्फोटिक अर्धशतकीय पारी खेलेका थिए । उनले २९ बलमा ५ छक्का र ७ चौका प्रहार गरेका थिए । उनी नयन प्रधानको बलमा रोशन झाबाट समातिन पुगेका थिए । कप्तान तथा विकेटकिपर सहिन हसनले ५५ रनको अर्धशतकीय पारी खेलेका थिए । सौगात ढकालबाट क्याचआउट हुनुअघि हसनले ४१ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए । समीर अन्सारीले २४, अमित शर्माले १२ रन बनाए । लखनउँका ३ खेलाडी शून्यमा आउट भएका थिए ।

लखनउँले १३५ रन बनाउँदा ५ विकेट गुमाई सकेको थियो भने छैठौं विकेटको लागि सर्वाधिक ५५ रनको साझेदारी भएको थियो । लखनउँले अन्तिममा २०४ रन बनाउँदा लगातार ३ विकेट गुमाउन पुगेको थियो ।

भरतपुरका लागि नयन प्रधानले ५ विकेट लिए । उनले ४ ओभरमा मात्र २६ रन खर्चिएका थिए भने १३ डट बल फालेका थिए । उनी एकै खेलमा ह्याट्रिकसहित ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । कप्तान दिपेश श्रेष्ठले ४ ओभरमा ४८ रन खर्चिदै २ विकेट लिए भने गौतम केसी र सौगात ढकालले समान एक विकेट लिए ।

यसैबीच आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७ रनले पराजित ग¥यो । सुदूरपश्चिम प्रदेशले लिएको दिएको १८४ रनको लक्ष्य पछ्याएको मधेश ९ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो । मधेशका लागि ओपनर साहिल पटेलले सर्वाधिक २५ रन बनाए । २० बल खेलेका साहिलले ३ चौका प्रहार गरे । निरज यादवले २४ र रोशन वि.क.ले २३ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा मेधश पराजित हुन पुग्यो ।

३३ रनमा पहिलो विकेट गुमाएको मधेश त्यसपछि सम्हालिन नसक्दा लक्ष्य भेट्टाउन सकेन । सुदूरपश्चिमका लागि दीपक बोहोराले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिए भने युवराज खत्रीले २ ओभरमा १५ रन र भोजराज भट्टले ४ ओभरमा १८ रन खर्चिदै समान २ विकेट लिए । नरेन साउद र बसन्त खत्रीले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । उसका लागि बसन्त कार्कीले सर्वाधिक ४३ रन बनाए । २७ बल खेलेका कार्कीले ३ चौका र २ छक्का प्रहार गरे । टेक रावतले २४ बलमा ३४ रन, खडक बोहोराले १६ बलमा ३१ रनको विष्फोटक पारी खेले । ओपनर दिपक बोहोराले २३ बलमा २७ रनको पारी खेले । बसन्त कार्की र टेक रावतले ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

मधेशका लागि प्रदीप पासवानले २ विकेट लिए भने प्रतिभ यादव, भुलन सहनी, अभिषेक तिवारी र अरनिको यादवले समान एक विकेट लिए ।

पहिलो जितसंगै प्रतियोगितामा लखनउँ नेटरनरेटको अधारमा शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम पहिलो जितसंगै २ अंकका साथमा दोस्रो र २ खेलमा एक जित र एक हारका साथ घरेलु टोली भरतपुर समान २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ सहभागि छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>