क्रिकेट

विश्वकप खेलाउने गरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला द्रुत गतिमा निर्माण हुन्छ: प्रमुख दाहाल

Banner

चितवन, चैत ८-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम द्रुत गतिमा निर्माण हुने बताएकी छन् ।
बिहीबारदेखि सुरु भएको इन्डो नेपाल टि–२० च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले यू १९ महिला विश्वकप खेल यही रंगशालामा खेलाउने गरी निर्माणको सम्पन्न गर्ने उल्लेख गरिन् । ‘फागुन १७ गते टेन्डर आह्वान भएको छ’, उनले भनिन्, ‘रंगशाला निर्माण हुन्छ कि हुदैन भन्ने आशंका पनि हट्यो । महानगरले द्रुत गतिमा रंगशाला  निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्छ ।’
यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गराउनका लागि नेपाल क्रिकेट संघ, खेलकुद मन्त्रालय र खेलकुद परिषद्लाई अनुरोध गरिएको उनको भनाइ छ ।

रंगशाला निर्माणको लागि संघ, प्रदेश र भरतपुर महानगरको संयुक्तरुपमा सहकार्य गरी अगाडि बढेकाले निर्माणको कार्यले छिटोभन्दा छिटो पूर्णता पाउने प्रमुख दाहालले बताइन् । भरतपुर महानगरपालिका क्रिकेटमा मात्र नभई सबै प्रकारको खेलकुद गतिविधि गर्ने नेपालकै उत्कृष्ट पालिकाको रुपमा सम्मानित भएको स्मरण गरिन् । प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विगत ५ महिनादेखि निरन्तर रुपमा खेलकुद गतिविधि सञ्चालन हुँदै आइरहेको बताइन् ।

आगामी चैत २६ गतेदेखि बागमती प्रदेश सरकारको आयोजनामा अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता भरतपुरमै हुन लागेको सो अवसरमा जानकारी दिइन् । प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, स्विमिङ, तेक्वान्दोलगायतका विभिन्न विद्याको खेल हुँदैछ । महानगरपालिकाले यस अघि विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता गरिसकेको छ ।

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको इन्डो नेपाल टी–२० च्याम्पियनशिप आज बिहीबारदेखि १८ गतेसम्म प्रतियोगिता चल्ने छ । सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपालका ४ टिम बागमती प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश, आयोजकको तर्फबाट भरतपुर मेयर्स ११ र भारतीय टोलीमा कलकत्ता र लखनउ ११ गरी ६ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>