Breaking News

भरतपुरमा रेलमार्गः नक्सांकन परिवर्तनका लागि कोरियन कन्सल्टेन्टको पर्खाइमा

Banner

चितवन, चैत ७–

पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि गरिएको नक्सांकन अझै पुरानै कायम भएको छ । रेलविभागको उच्चस्तरीय टोलीले स्थानीय सरोकारवालाहरुसँग छलफल गरे पनि प्रस्तावित विकल्पहरु मध्येबाट एउटा छनोट नभएकोले अहिलेसम्म पुरानै नक्सांकन कायम भएको हो ।

रेल विभागका सूचना अधिकारी कमलकुमार शाहले अहिलेसम्म पुरानै नक्सांकन कायम रहेको बताएका छन् । उनले प्रस्तावित विकल्पहरु मध्ये एक छनोट नभएकोले पुरानै कायम भएको नारायणी अनलाइनलाई बताए । रेलमार्गको सम्भावना बारेमा अध्ययन गरिरहेका पूर्वमन्त्री तथा एमालेका नेता विजय सुवेदीले विकल्पहरुबारे छलफल भए पनि कोरियन कन्सल्टेन्ट नआएसम्म नयाँ निर्णय नभएको बताए । उनले भने, ‘ प्रस्तावित रेलमार्गको नक्सांकनको विकल्पमा नयाँ छनोट हुन सकेको छैन । कोरियन कन्सल्टेन्टको पर्खाइमा छौं ।’

प्रस्तावित रेलमार्गले पूर्वपश्चिम रेलमार्ग चितवनको राप्ती नगरपालिकाको १, २, ३ र ६, खैरहनी नगरपालिकाको ५, ७ र १०, रत्ननगर नगरपालिकाको ४, ५ र ९ त्यस्तै भरतपुरको ८, ७, ५, ४ र १६ नम्बर वडा हुँदै जाने छ । पूर्वी चितवनबाट टिकौली जंगल हुँदै भरतपुर महानगरपालिका प्रवेश गर्ने मार्ग भरतपुर–८ को भरतपुर रेडिमिक्स नजिकैबाट शरदपुर, गौरीगञ्ज, कृष्णपुरस्थित एकीकृत बस्ती हुँदै शिवघाट नजिकैबाट नारायणी नदी पार गरेर नवलपरासीतर्फ पुग्छ ।

भरतपुर महानगरपालिकामा उल्लेखित अधिकांश वडाहरु शहरी क्षेत्रमा पर्ने भन्दै स्थानीय नागरिक र राजनीतिक दलहरुले विरोध गरेपछि विकल्पबारे छलफल भएको थियो ।

रेलमार्गका लागि नक्सांकन गरिएको क्षेत्रका बासिन्दाहरूले भगीरथ पहाडीको संयोजकत्वमा संघर्ष समिति बनाएर नै विरोध गरेका थिए । निजगढबाट हेटौंडा हुँदै चितवन प्रवेश गर्ने रेलमार्ग पूर्व–पश्चिम महेन्द्र राजमार्गभन्दा दक्षिणतर्फबाट अघि बढ्दै नवलपरासीको अमरापुरी पुग्नेगरी प्रारम्भिक नक्सांकन गरिएको छ । रेल विभागले परामर्शदातामार्फत् यो खण्डको अध्ययन गरिरहेको अवस्थामा अध्ययनको काम नसकिँदै भरतपुरबासी संघर्षमा उत्रिएका थिए ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना सुरु भएको आर्थिक वर्ष २०६५\६६ मा हो । यो आयोजना सुरू भएको १५ वर्ष भए पनि सुरूका धेरै वर्ष अध्ययनको मात्र काम भएको थियो। पर्याप्त बजेट विनियोजन नहुँदा आयोजनाले मुआब्जाको काम पनि टुंग्याउन सकेको छैन । निर्माण सुरू भएको खण्डमा पनि न्यून प्रगति छ ।

९२५ किमी दूरीको यो आयोजनामा अहिले निजगढ खण्डमा काम भइरहेको छ । सुरूको अध्ययनअनुसार पूर्व–पश्चिम रेलमार्गको दूरी ९४५ किमी थियो । पछि निकुञ्ज क्षेत्रको रेखांकन परिवर्तन हुँदा दूरी घटेर ९२५ पुगेको छ । यो रेलमार्ग झापाको काँकडभिट्टाबाट सुरू भई सुदूरपश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी जोडिने जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>