अन्तर्राष्ट्रिय

जब मरिसकेकी छोरीले आमाका लागि गाइन् बर्थडे गीत…

Banner

चैत ३-

आफ्नी २२ वर्षीया छोरी गुमाउँदाको पीडा बुवाआमालाई कस्तो हुन्छ होला ? त्यही पीडाले ढलेकी आमा बौरिन सकिरहेकी थिइनन् । तर, मृतक युवतीका बुवाले जे काम गरे त्यसलाई मानिसहरुले चमत्कारभन्दा कम मानिरहेका छैनन् ।

जन्मदिनका अवसरमा उनकी पत्नीका लागि एउटा गीत गाइयो र अनौठो त के भने उक्त गीत उनै मृतक छोरीले गाइन् । घटना ताइवानको हो । ताइवानी चर्चित संगीतकार टिनो बाओले यस्तो अपत्यारिलो काम सम्पन्न गरेका हुन् । र, यसका लागि उनले आधुनिक प्रविधिको सहारा लिए ।

संगीतकार टिनो बाओले यसका लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरे । उनले आफ्नी मृतक छोरीको एआई प्रतिरुप बनाए । छोरीको त्यही एआई पात्रमार्फत् उनले पत्नीका लागि गीत गाइदिए । ५६ वर्षीय बाओले आफ्नी छोरी बाओ रोंगको डिजिटल भर्सनको भिडियो क्लिप पनि सार्वजनिक गरेका छन् ।

उक्त भिडियोमा ती एआई पात्रले आफ्नी आमाका लागि जन्मदिनको गीत गाउनु अगाडि चिनियाँ भाषामा भन्छिन्-मैले हजुरलाई सम्झिरहन्छु ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार बाओले फेब्रुअरीमा ताइवानी सञ्चारमाध्यम फ्यूचर सिटीसँग बताएका थिए कि उनकी मृतक छोरीका तस्वीरलाई पुनर्सिर्जना गर्नु निकै सजिलो थियो । किनकि उनले छोरीका कैयन् तस्वीरहरु आफूसँग राखेका थिए । तर उनको आवाज तयार पार्नमा भने धेरै मेहेनत लाग्यो ।

जुन टिमसँग उनले काम गरे उसले केवल तीनवटा अंग्रेजी वाक्यको उपयोग गरेर जेनेरेटिभ अडियो मोडेललाई प्रशिक्षित गरे । ती वाक्य उनकी छोरीले आफ्ना आमासँग भिडियो कलका बेला बोलेकी थिइन् । छोरीको आवाजलाई पुनःसिर्जना गर्नु निकै महत्वपूर्ण छ किनकि आफ्नो जीवनका अन्तिम पलहरुमा उपचारका कारण उनी बोल्न सकिरहेकी थिइनन् ।

दुई वर्षको उपचार पश्चात् सन् २०२१ मा रगतसँग सम्बन्धित एक दुर्लभ रोगका कारण उनको मृत्यु भएको थियो । यद्यपि परिवारको कुनै मृतक सदस्यको डिजिटल भर्सन तयार गरेर परिवारमा पुनर्मिलन गराइएको यो पहिलो घटना होइन ।

गत जनवरीमा सुपर ब्रेन नामक चिनिया कम्पनीले पछिल्लो ७ महिनामा ६०० भन्दा धेरै परिवारका मृतक आफन्तको एआई क्लोन तयार पारेको बताएको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>