कृषि

चितवनका किसानको मह बिक्री भएन, सिंहदरबारमा मौरी उडाउने चेतावनी

Banner

पूजा ढकाल

चितवन, फागुन ३०–

पछिल्लो दुई वर्षदेखि चितवनमा उत्पादित मह एक प्रतिशत पनि बिक्री नहुँदा किसान मर्कामा परेका छन् ।

मह स्टक बसेपछि महकोे बजार व्यवस्थापन गर्न माग गर्दै मौरीपालक किसानले चितवन प्रशासन कार्यालयमार्फत् आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
सरकारले स्वदेशी महको बजार व्यवस्थापन नगरे सिंहदरबार काठमाडौँमा मह पोख्ने र मैरी उडाउने चेतावनी दिँदै उनीहरुले जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल मौरीपालक महासंघका अध्यक्ष शिव पौडेलले किसानले उत्पादन गरेको महकोे बजार व्यवस्थापन गर्न माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको बताए । उनका अनुसार चितवन मह उत्पादनको राम्रो सम्भावना भएको ठाउँ भए पनि पछिल्लो समय यहाँको महले बजार नपाउँदा किसान मर्कामा परेका छन् । राष्ट्रिय तथ्यांकले नेपालमा खपत भएको मह ९ हजार मेट्रिक टन देखाएको छ । यसरी नेपालमा खपत हुने महको ५० प्रतिशत मह नेपालमा उत्पादन नहुँदा पनि किसानको मह बिक्री नभएको उनको गुनासो हो । उनले भने, ‘राज्यको तथ्यांक अनुसार काठमाडौँमा मात्रै ८० प्रतिशत मह खपत भएको देखिन्छ । तर, हामी किसानको मह बजार नपाएर स्टक बसेको छ ।’ अहिले नेपालमा एक लाख ३० हजार भन्दाबढी मैरीपालक किसान भए पनि बजार र मूल्य नपाउँदा उत्पादन घटेको उनले बताए । उनको अनुसार गत वर्षको एक हजार ५००, यसवर्षको दुई हजार बढी मेट्रिक टन मह बिक्री नहुँदा उनको पनि पाँच टन मह स्टक बसेको छ । जसमा यसवर्ष उत्पादन भएको १०० प्रतिशत मह नै स्टक छ । उनले आफूले कालिका नगरपालिका ३ मा रहेर विसं २०५८ सालदेखि मौंरी पाल्न गरेको र पछिल्लो ३/४ वर्षदेखि मह बिक्री नभएको बताए ।

चक्लेटमा प्रयोग गरिने सिरफ अवैधरूपमा भित्रिँदा स्वदेशी मह बिक्री नभएको नेपाल मौरीपालक महासंघ बाग्मती प्रदेशका महासचिव गंगाप्रसाद सापकोटाले बताए । उनले महको तुलनामा सिरफ सस्तो हुने भएकोले चक्लेट महको सट्टा सिरफ प्रयोग भएको र अब प्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रियसभा अध्यक्ष चितवनकै भएकोले चितवनका किसानले आन्दोलन गर्ने दिन नआउने आशा लागेको बताए । उनका अनुसार बाग्मती प्रदेशमा उत्पादन हुने ४\५ हजार टन मह मध्ये ५० प्रतिशत चितवनमा उत्पादन हुन्छ । त्यतिमात्रै नभएर नेपालमा उत्पादिन हुने १०० प्रतिशत मध्ये पनि ५० प्रतिशत चितवनमा उत्पादन हुने उनले बताए । उनका अनुसार कालिका नगरपालिका–६ मा उनले १३५ गोला मैरी पालेका छन् । जसबाट उत्पादित २० देखि २२ क्विन्टल स्टक छ ।

नेपाल मौरीपालक महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष दुर्गाप्रसाद तामाङ्ले १५ दिने आदेशसहित प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको बताए । उनका अनुसार पछिल्लो ३\४ वर्षदेखि मह बिक्री भएको छैन । बिक्री भए पनि निकै कम मात्रामा स्वदेशी मह बिक्री भएको छ । उनले भारतबाट आयात हुने महमा सरकारले ९\१० प्रतिशत मात्रै कर लगाउँदा नेपाली महको तुलनामा भारतीय मह निकै सस्तो पर्ने बताए । उनको अनुसार यसरी भारतीय मह आयात बढ्दा जिल्लाका २१८ किसानले उत्पादन गरेको मह स्टक बसेको छ । जसमा आफ्नो ८५ गोलामा उत्पादित १२ क्विन्टल मह स्टक बसेको उनले बताए । उनले भने, ‘पहिले होलसेलमा ५५० रुपयाँमा बिक्री हुने मह अहिले व्यापारीले २००\२५० मा माग्ने गरेको छन् । तर, किसानको मह उत्पादन गर्न लागत ३५० देखि ४०० सम्म लाग्ने गर्छ ।’ चितवन मह उत्पादनको राम्रो सम्भावना भएको क्षेत्र हो । तोरी, चिउरी, सिमल, रुदिलो राम्रो उत्पादन हुने भएकैले चितवनलाई मह उत्पादनको राम्रो सम्भावन भएको क्षेत्र मानिन्छ । तर, पनि मह बिक्री नहुनु निकै ठूलो समस्या रहेको किसानहरुले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले यो विषय नीतिगत निर्णय गरेर समाधान गर्न पर्ने विषय भएकोले आजै प्रधानमन्त्री समक्ष मेल मार्फत ज्ञापनपत्र पुर्‍याउने  प्रतिबद्धता दिए ।

ज्ञापनपत्रमा उल्लेखित किसानका दीर्घकालिन र अल्पकालिन मागहरु यसप्रकार रहेका छन्:

१ः नेपाली महको ब्राण्ड स्थापित गर्नुपर्ने
२ः चिउरीको महलाई विदेशमा चिनाउनुपर्ने साथै बौद्धिक अधिकार प्याटर्न राइट लिनु पर्ने ।
३ः नेपाली मह जम्छ महको प्राकृतिक गुण जम्नु हो भन्ने चेतना बृद्धि गराउने ।
४ः मह संकलन कक्ष आधुनिक र ब्यवस्थित रुपमा बनाई अन्तर्राष्ट्रियस्तरको ल्याबको व्यवस्था गर्नुपर्ने
५ः मौरी र महको एकीकृत कार्य एक्लेन्स सेन्टरको स्थापना गरी खोज र अनुसन्धान लाई तीव्रता दिनुपर्ने ।

अल्पकालिन पहल:

१ः बहुराष्ट्रिय कम्पनीलाई नेपालमा बजारीकरण गर्न नेपाली किसानले उत्पादन गरेको मह लिने व्यवस्था गर्ने ।
२ः बिचौलियालाई लागत मूल्यको आधारमा किसानको मह खरिद गर्नुपर्ने ।
३ः भन्सार दर बढाउनुपर्ने ।
४ः उत्पादन र उपभोगको सन्तुलन मिलाउदै भदौंदेखि चैतसम्म विदेशबाट आयतित महलाई प्रतिबन्ध लगाउनुपर्ने ।
५ः चक्लेटको लागि आयातित कर्न र सुगर सिरफलाई महको नाममा प्रयोग हुन नदिन कडा अनुगमन गर्नु पर्ने ।
७ः सेना, शसस्त्र प्रहरी बल, प्रहरी तथा स्कुलमा पौष्टिक आहारको रुपमा महलाई पनि समावेश गराउनुपर्ने ।
८ः नेपाली किसानले उत्पादन गरेको नेपाली महको लोगो

९ः नेपाली मह ब्राण्ड स्थापित गरी संकलन मा एकद्वार नीति र वितरण प्रणलीमा बिकेन्द्रित नीति अबलम्बन गर्नुपर्ने आदि ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>