चितवन विशेष

चितवनका साहित्यकार रेग्मीले ल्याए कथा सङ्ग्रह ‘बाँसुरीको धुन’

Banner

चितवन, फागुन २९-

चितवनका साहित्यकार टीकाराम रेग्मीको नयाँ कथा सङ्ग्रह‘बाँसुरीको धुन’ प्रकाशित भएको छ ।

१५ वटा सामाजिक विषयवस्तुमा आधारित रेग्मीको कथा सङ्ग्रहलाई सुनवर्षी बुक हाउस  काठमाडौँले प्रकाशन गरेर बजारमा ल्याएको हो ।

पुस्तकको आगामी चैत २ गते शुक्रबार भरतपुरमा विशेष कार्यक्रम गरेर अक्षर समूहको संयोजनमा विमोचन गरिने भएको छ । २२४ पृष्ठको यस कथा सङ्ग्रह सामाजिक र मनोवैज्ञानिक विषयवस्तुमा आधारित रहेको छ ।

झण्डै २० वटा पुस्तक लेखेका भरतपुर महानगरपालिका–७ वागवानी मार्गका स्थायी बासिन्दा रेग्मीको साहित्य विद्यातर्फ यो पाँचौ कृति हो । यसअघि विसं २०७१ सालमा ‘विपर्यास’, २०७४ सालमा ‘अनुनाद’ यात्रा स्मृति, २०७६ सालमा अवरण लघुकथा र २०७८ सालमा उज्यालोतिर नामका पुस्तकहरु उनले प्रकाशित गरिसकेका छन् । भरतपुरको वाल्मीकि शिक्षा सदनको सल्लाहकार रहेका रेग्मीको शिक्षा क्षेत्रमा खोजमूलक दर्जनौं लेखहरु प्रकाशित भइरहेका छन् ।

विसं २०१३ सालमा स्याङ्जाको भीरकोटमा जन्मिएका रेग्मी बसाइँ सरेर रुपन्देही हुँदै चितवन आइपुगे । उनले  प्रारम्भिक शिक्षा रुपन्देहीबाट लिए । शान्ति विद्यालय मणिग्रामको पुस्तकालयमा हिन्दी पुस्तक ‘वीरबल जिम्दा है’ पढेपछि उनी अध्ययन र लेखनमा अभिप्रेरित बने । पञ्चायती व्यवस्थामा आएको राजनीतिक उथलपुथलसँगै प्रकाशित भएका विभिन्न साहित्यिक पत्रिकाको अध्ययनले उनको लेखन यात्रा थप परिष्कृत बन्न पुग्यो । शैक्षिक फोरममा रहेर देश तथा विदेशमा शिक्षाको बारेमा बहस, छलफल र लेखनमा रेग्मी अहिले पनि निरन्तर सक्रिय छन् । अध्ययन र लेखन रेग्मीको जीवनको पर्यायवाची शब्द जस्तै बनेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>