चितवन विशेष
चितवनका नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने तयारी

चितवन,फागुन २७-
सत्ता गठबन्धनका दलहरुबीच राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएसँगै आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् । माओवादी केन्द्रभित्रका आकांक्षीमध्ये नेताहरू नारायणप्रसाद दाहाल र झक्कुप्रसाद सुवेदीले आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन् । उम्मेदवार चयन गर्नका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
माओवादीका एकजना पदाधिकारीका अनुसार सुवेदी भन्दा दाहालको उम्मेदवार बन्ने सम्भावना बलियो छ । ‘अहिलेसम्म झक्कु सुवेदी र नारायणप्रसाद दाहालले आफू हुनुपर्छ भनेर भन्नुभएको छ । दाहाल कमरेडले पदाधिकारी सबैसँग भेटेर आफू हुनुपर्ने भनिरहनुभएको छ’, ती पदाधिकारीले भने, ‘पदाधिकारी बैठक बस्दै छ । अध्यक्ष कमरेडले के प्रस्ताव गर्नुहुन्छ त्यहीअनुसार छलफल अघि बढ्छ ।’ माओवादी नेताहरूका अनुसार दाहाल र सुवेदी बाहेक राष्ट्रियसभाकी वर्तमान उपाध्यक्ष उर्मिला अर्याल र सुरेश आले मगर पनि आकांक्षीका रूपमा हेरिएका छन् ।
नाताले प्रधानमन्त्री प्रचण्डका भाइ समेत रहेका दाहाल २५ चैत २०७९ मा तत्कालीन राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित भएका थिए । राष्ट्रियसभामा उनको अवधि ४ वर्ष बाँकी छ । सुवेदी भने ११ माघ २०८० मा निर्वाचित भएकाले उनको कार्यकाल ६ वर्ष छ । दाहाल स्वयंले पनि यस विषयमा पार्टीका नेताहरूलाई जानकारी गराइसकेको बताए । ‘मैले उम्मेदवार हुन्छु भनेर सबै नेताहरूलाई भनेको छु । मेरो तर्फबाट त आफ्नो कुरा राख्ने मात्रै हो’, दाहालले भने, ‘कसलाई बनाउने भनेर पदाधिकारी बस्दै हुनुहुन्छ, उहाँहरूले टुंग्याउनु होला ।’
उनले पार्टीका नेताहरूले आफूलाई राष्ट्रिय सभा अध्यक्ष हुन सुझाव दिइरहेको भन्दै अवसर पाए नेतृत्व गर्न तयार रहेको बताए । दाहाल यसअघि १६ फागुनमा श्रीमतीको उपचारका लागि भारत गएका थिए । यता राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने भएपछि उनी केही दिनअघि काठमाडौँ फर्किएका हुन् ।

























