देश/प्रदेश

तनहुँको छिम्केश्वरीमा आन्तरिक पर्यटक लोभिँदै

Banner

तनहुँ, फागुन २६-

समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा प्रसिद्ध छिम्केश्वरी मन्दिर अवस्थित छ । जिल्लाकै सर्वोच्च उचाइमा रहेको उक्त मन्दिरमा पुग्ने जो कोही पर्यटकलाई मनोरम प्राकृतिक दृश्यले आकर्षण गर्ने गर्दछ ।

आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी मन्दिर जीर्ण बन्दै गएपछि हालै प्यागोडाशैलीमा पुनः निर्माण गरिएसँग यस क्षेत्रको मुहार फेरिएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीबाट लाब्दीसम्मको करिब १८ किलोमिटर यात्रापछि मन्दिरमा पुग्न सकिन्छ । उक्त दूरीमध्ये नौ किमी कालोपत्र गरिएको छ भने अन्य सडक ग्राभेल छ । ग्राभेल सडकपश्चात् करिब सात सय ५० मिटर रेलिङ निर्माण गरिएकाले पैदल हिँड्नुपर्दछ ।

छिम्केश्वरी माईको दर्शन एवं भाकलका साथै उक्त स्थानबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्धलगायत हिमालका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्यटन प्रवर्द्धन गर्न मन्दिर पुनः निर्माण गरिएको वडाध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले रू ४५ लाख बजेट विनियोजन गरी पुनः निर्माण गरेको हो ।

छिम्केश्वरी मन्दिरमा पूजाअर्चना एवं घुम्नका लागि विभिन्न स्थानबाट पर्यटक आउने गरेकाले चहलपहल बढ्न थालेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक चार÷पाँच सय आन्तरिक पर्यटकको आगमन हुन थालेसँगै छिम्केश्वरी डाँडामा मानिसको चहलपहल बढेको हो ।

“पर्यटनको सिजन सुरु भएकाले यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “पर्यटकलाई मध्यनजर गर्दै स्थानीय छिम्केश्वरी सामुदायिक घरबासलाई थप व्यवस्थित गर्न थालेका छौँ ।” मकै, भटमास, गुन्दु्रकको अचार, कोदोको सेल रोटीलगायत स्थानीय एवं अर्गानिक परिकारले पाहुनाको स्वागत गर्ने व्यवस्था मिलाइएको छ ।

उक्त मन्दिरमा छाना, मुकुट, नागोल, झलर र गजुरमा गरी कूल ४२५ किलोग्राम पित्तल प्रयोग गरी आकर्षक बनाइएको गाउँपालिकाका इञ्जिनियर पङ्कज मगरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको रू २१ लाख ५० हजार र बाँकी रकम उपभोक्ता समितिले व्यहोर्ने गरी कूल रू २३ लाख ९७ हजार दुई सय १८ खर्च भएको छ ।

मन्दिरको छाना बनाउनका लागि मात्रै ज्यालासहित रू १२ लाख खर्च भएको इञ्जिनियर मगरले बताउनुभयो । छाना छाइनुका साथै मन्दिर परिसरमा मौला निर्माण गर्ने, मन्दिरको भित्री भागमा टायल विछ्याउने, रङरोगन र टल्काउने कार्य गरिएको छ ।

छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित गाउँपालिका अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको पाइन्छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् । साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार छिम्केश्वरीको डाँडामा खानेपानीको स्रोत नभएकाले प्लाष्टिकको पोखरीमा पानी सङ्कलन गरेर गत वर्ष मन्दिर पुनः निर्माण सम्पन्न गरिएको हो ।

मन्दिर जीर्ण भएपछि गाउँपालिकाले गत वर्षदेखि निर्माण सुरु गरी गरेको थियो । भौगोलिक विकटताका कारण निर्माणमा केही समय ढिलाइ भए पनि निर्माण सम्पन्न भएसँगै पर्यटन क्षेत्रमा फड्को मार्ने विश्वास लिइएको अध्यक्ष चुमानले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area