Breaking News

चितवनमा चुनौती बन्दै साइबर अपराध, बिगत वर्ष भन्दा यो वर्ष झण्डै दोब्बर बढी उजुरी

Banner

निरुता विक-

चितवन, फागुन २४

चितवनमा हरेक वर्ष साइबर अपराधका घटनाहरु बढ्दै गएका छन् । सामाजिक सञ्जालको प्रयोग बढेसँगै अपराध गर्नेको संख्या झण्डै दोब्बरले बढेको हो ।

फेसबुक, ह्वाट्सएप, इमेल, ट्विटर, युट्युब, एसएमएसलगायतका सामाजिक सञ्जालबाट साइबर अपराधका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङकअनुसार अघिल्लाे आर्थिक वर्ष २०७८\७९ मा साइबर अपराधसम्बन्धी २२३ वटा निवेदन दर्ता भएको थियो । गत आर्थिक वर्ष २०७९\८० मा ३२४ वटा निवेदन दर्ता भएको कार्यलयको तथ्याङकमा उल्लेख गरिएको छ ।

यो आर्थिक वर्ष २०८०\८१ को आठ महिनामा ५०२ वटा साइबर अपराधसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् । जुन संख्या बिगत वर्षको भन्दा १७८ वटा बढी हो । उजुरीको बढ्दो प्रवृत्ति हेर्दा अझै यो आर्थिक वर्ष सकिन चार महिना बाँकी रहेकोले बिगत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षको अन्त्यसम्म दोब्बर बढी उजुरी पर्न सक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढेर अपराध गर्नेको संख्या पनि बढ्दै गएको बताए । साइबर अपराधका घटना चितवनमा हरेक वर्ष भयाबह बन्दै गएको प्रहरी निरीक्षक साहको भनाइ छ ।
साइबर अपराधमा लाग्ने मध्ये सबैभन्दा धेरै व्यक्ति १८ वर्षदेखि ३० वर्षसम्मका हुने उनको भनाइ छ । उनले भने, ‘कसरी हुन्छ पैसा कमाउने उद्देश्यले प्रेरित अपराधका घटनाहरू हुने गर्छन् । मुख्यतया फेसबुक ह्याकसम्बन्धी अपराधका घटना बढ्दो छ ।’ विदेशमा बसेर अनलाइनबाट सामान पठाइदिन्छु वा पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको उनले जानकारी दिए ।

साहका अनुसार अशिक्षा, गरिबी र बिपन्नताको कारणले समाजमा अपराध बढ्ने गरेको छ । उनले भने, ‘पारिवारिक रिसीइबीको कारण र आर्थिक लेनदेनका कारण अपराध बढ्दो छ ।’ प्रहरी निरीक्षक साहले साइबर अपराधसम्बन्धी घटना रोक्नको लागि विभिन्न अनलाइन मिडिया, रेडियो, टेलिभिजन, पत्रपत्रिकामार्फत साइबर अपराधसम्बन्धी सूचना दिँदै आएको जानकारी दिए । उनले विद्यालय, समुदायमा साइबर अपराध सम्बन्धी घटना रोकथाम गर्नको लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>