चितवन विशेष

कल्याणकोषको रकम हिनामिना भएको भन्दै प्रहरी महानिरीक्षकलाई चितवनबाट पढाइयो ज्ञापनपत्र

Banner

पूजा ढकाल

चितवन, फागुन २४-

नेपाल पूर्वप्रहरी संगठनले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत् प्रहरी महानिरीक्षकलाई ज्ञापनपत्र  बुझाएको छ ।

संगठनले आज प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारी मार्फत्  छ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो ।

नेपाल पूर्वप्रहरी संगठनका अध्यक्ष उद्धककुमार श्रेष्ठले प्रहरी संगठन र नेपाल सरकारलाई अनुरोध गरेर प्रधानमन्त्रीलगायत नेपाल सरकार समक्ष ७७ वटै जिल्ला, प्रदेश र प्रहरी प्रधान कार्यालय सबैमा ज्ञापनपत्र बुझाएको जानकारी दिए । उनले निजामती कर्मचारीले जस्तो पेन डाउन गरेर आन्दोलन गर्दा राज्य एक मिनेट पनि चल्न नसक्ने भएकोले ३५ दिन भित्र माग पूरा नभए नयाँ मिति तय गरेर शान्तिपूर्ण आन्दोलनमा जाने बताए । उनले भने, ‘प्रहरी कल्याणकोषमा पहिले १७ अर्ब पैसा भए पनि अहिले ४ अर्ब मात्रै रहेको छ भन्ने सुन्नमा आएको र प्रहरीबाट अवकास प्राप्त प्रहरीले स्वास्थ्य लाभलगायत कल्याणकारी कोषबाट कुनै सुविधा नपाएकोले हामीले उक्त पैसाबारै अनुसन्धान गर्न माग गरेका छौँ ।’

त्यस्तै अवकास हुन भन्दा पहिले आफूहरुको र निजामती कर्मचारी पारिश्रमिक बराबर हुने भए पनि अवकासपछि नेपाल सरकारले प्रदान गर्ने पेन्सनमा विभेद भएको उनले गुनासो गरेका छन् । उनका अनुसार एक निजामती कर्मचारीले दिनमा सात घण्टा काम गर्दा प्रहरीले २४ घण्टा काम गर्छ । यस्तै हप्तामा निजामतीले ४० प्रहरीले १३८, महिनामा निजामतीले १६० प्रहरीले ६७२, वर्षमा निजामती एक हजार ९२० घण्टा प्रहरीले ८ हजार ६४ घण्टा काम गर्ने गरेको उनले जानकारी दिए । उनले एक निजामती कर्मचारीकोे ४० वर्षमा र प्रहरीको ३० वर्षमा अवकास भए पनि प्रहरीको कार्य समय निजामतीको भन्दा एक लाख ६५ हजार १२० घण्टाले बढी हुने बताए  । उनले भने, ‘यसरी प्रहरीले निजामतीले भन्दा बढी समय काम गरे पनि पेन्सन किन फरक ? हरेकको पेन्सन फरक फरक भए पनि म प्रहरी नायब उपरीक्षक हुँदा उपसचिवकै सरह पारिश्रमिक हुन्थ्यो । तर, अहिले अवकासपछि उपसचिवले ४८ देखि ५० हजार र मलाई ३४ हजार मात्रै पेन्सन किन ? यदि श्रम ऐनको नियमन गर्ने हो भने नेपाल सरकारले त बढी काम गर्नेलाई बढी पारिश्रमिक दिन पर्ने होइन । यहाँ बढी काम गर्नेलाई कम र कम काम गर्ने बढी पेन्सन किन ?’
यसरी पेन्सनमा विभेद गर्दा आफूलाई अपमान गरे सरह महसुस भएको र यसको समाधान नगर्ने हो भने आगामी  दिनमा सुरुक्षा निकायमा बुझेका व्यक्तिहरु नआउने उनले बताए । साथै उनले अब यस विषयमा राज्यले नसोचे सुरुक्षा निकायमा भएका व्यक्तिहरुले पनि जागिर छाड्ने क्रम बढ्ने दुःखेसो गरे ।

नेपाल पूर्वप्रहरी संगठनको ६ बुँदे माग के के छन् ?

१. प्रहरी कल्याणकोषको संरक्षक मोति लाल बोहराको समय बि.सं.२०४९ फागुन देखि संरक्षक रविन्द्र प्रताप शाहको समय बिसं २०६९ भाद्रसम्मको कल्याणकोषको आय व्ययको हिसाबकिताब नेपाल पूर्वप्रहरी संगठनका पदाधिकारी तथा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्ट वा अडिट फर्म समेत सहभागी गराई एक छानबिन समिति गठन गरियोस् ।

२. नेपाल प्रहरी कल्याण कोषको रकम बाट कल्याणकारी कार्यमा रकम बिनियोजित गर्दा मूल धन बाट भएको वा हुने बढतको (कम्तीमा बैंक व्याजका आधारमा) ४०५ बहालका प्रहरीहरुको लागि खर्च गर्ने, ४०५ पूर्वप्रहरीहरुका लागि खर्च गर्ने र २०५ आय मूलक कार्यमा खर्च गर्ने नितिगत निर्णय गरी सो निर्णय कार्यान्वयन गरियोस् ।

३. प्रहरी कल्याणकोष सञ्चालक समितिमा ४०५ प्रतिनिधित्व पूर्वप्रहरी संगठनबाट वा पूर्वप्रहरीबाट हुने व्यवस्था गरियोस् ।

४. प्रहरी संगठनको काम शान्ति सुरक्षा दिने भएकोले कल्याणकारी योजनाअन्तर्गतका व्यापारिक कामहरु पूर्वप्रहरी संगठनलाई हस्तान्तरण गरियोस् । प्रहरी संगठनले व्यापार नगरोस् ।

५. नेपाली सेनाको मैं पूर्वप्रहरीहरुको कल्याणमा समन्वय तथा योजना गर्न प्रहरी प्रधान कार्यालयमा अफिस सहित दुई जना पूर्व प्रहरी पदाधिकारीहरुलाई र हरेक प्रदेशमा १र१ जना पदाधिकारीहरुलाई पूर्वदर्जा अनुसारको सेवा सुविधा दिई, साथै निजहरुलाई सहयोग गर्न वहालका प्रहरीहरु समेत दिएर पूर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गरियोस्।
६. प्रहरीका अमर सहिद परिवारका संन्ततीका लागि १०५ र प्रहरी परिचर देखि बप्रनानि दर्जा सम्मका पूर्वप्रहरीहरुका संन्ततीहरुका लागि ५५ नयाँ भर्नामा कोटा प्रदान गर्ने व्यवस्था गरियोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>