Breaking News

विश्वकप क्रिकेटका लागि सरकारद्धारा पाँच करोड निकासा

Banner

काठमाडौँ,फागुन २३-

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले रु पाँच करोड निकासा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि उक्त रकम निकासा भएको जानकारी दिनुभयो ।

“नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो । खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो ।

नेपाली पुरुष क्रिकेट टोली विश्वकपका लागि छनोट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सदस्य–सचिव घिसिङले खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिवृद्धि गर्ने विश्वास लिएको बताउनुभयो । उहाँले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्नसमेत आग्रह गर्नुभयो ।

नेपालले घरेलु मैदानमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ तारिखसम्म भएको आइसिसी पुरुष टी–२० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेटस् (युएई)लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सञ्चालन हुँदैछ । नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>