चितवन विशेष
पटक–पटक झुक्याइएको भन्दै रत्ननगरका सुकुमबासीलाई तुरुन्त लालपूर्जा दिन माग

चितवन, फागुन २३–
रत्ननगर नगरपालिकामा सरोकारवालाहरुले सुकुमबासीलाई तुरुन्त लालपुर्जा बितरण गर्न माग गरेका छन् ।
भूमिहीन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण तथा छुट जग्गा दर्ता सम्बन्धी आज भएको अन्तरक्रियामा सो माग उठेको हो ।
भूमि आयोगका प्रतिनिधि जनप्रतिनिधि, राजनीतिक दल र कर्मचारीको बीचमा भएको अन्तक्र्रियामा सहभागीले लालपूर्जा बितरणको काम तुरुन्त सुरु गर्न भूमि आयोग र स्थानीय सरकारसँग माग गरेका छन् । कार्यक्रममा सहभागीले चुनावको बेलामा लालपुर्जाको आश्वासन दिएर सुकुमबासीलाई भोट बैँक मात्र बनाइएको भन्दै चिन्ता व्यक्त गरेका छन् । राजनीतिक दलका प्रतिनिधिले भूमि आयोगले लालपूर्जा वितरणमा ढिलाई गरेको भन्दै सुरु भएपछि नरोकिने गरी तयारी गर्न माग गरेका छन् । सुकुमबासीले लालपूर्जा पाउनेमा अझै विश्वस्त हुन नसकेको उनीहरुले बताएका छन् ।
रत्ननगर नगरपालिकाले चैतको पहिलो साताबाट लालपूर्जा बितरण गर्ने गरी गृहकार्य सुरु गरेको छ । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७८\७९ मा यहाँका दुई हजार ४१ जना घरधुरीलाई निस्सा वितरण गरेको थियो । सो नगरपालिकामा वडा नं १२ बाट औपचारिक रुपमा लालपूर्जा वितरणको काम सुरु गर्ने तयारी गरिएको छ । रत्ननगर नगरपालिकाले सो वडाका १९९ घरधुरीलाई लालपूर्जाको लागि भूमिआयोग चितवनमा सिफारिस गरेको थियो ।

भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले जिल्लाका सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि निरन्तर पहल गरिरहेको बताए । १० वर्ष एकै ठाउँमा बसेका सुकुमबासीलाई बसोबासकै आधारमा पुर्जा दिलाउन आफूले सरकारसँग पहल गरिरहेको उनको भनाइ छ । उपमेयर यादब पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रममा नापी कार्यालय चितवनका प्रमुख सुवास भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रत्ननगरका मेयर प्रल्हाद सापकोटाले रत्ननगरमा लालपूर्जा वितरण सुरु भएपछि नरोकिने दाबी गरे । उनले भने, ‘सुकुमबासीको लालपूर्जा पाउने सपना अर्को महिना पूरा हुन्छ । आफ्नो कार्यकालमा नगर भित्रका सबै सकुमबासीलाई पूर्जा वितरण गर्छु ।’ अन्तरक्रियामा एमालेका नगर इन्चार्ज प्रेमनाथ दुवाडी, नेपाली कांग्रेस रत्ननगरका उपसभापति अपिल अधिकारी, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, रास्वपाका बाबुराम अर्याल, राप्रापाका हरिशरण भट्टराई, समाजबादीका नगर अध्यक्ष हरिकुमार श्रेष्ठ सहित जनप्रतिनिधि, वडा सचिव तथा कर्मचारीहरुले सहभागिता जनाएका छन् ।
























