देश/प्रदेश

जुनियर युवा रेडक्रसको ५९औं स्थापना दिवसमा युवाको भूमिकाबारे बहस

Banner

काठमाडौं, फागुन २२-

नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस देशव्यापीरूपमा मनाइएको छ ।

रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअलरूपमा सहभागिता जनाएर विविध विषयमा छलफल गरिएको हो ।

रेडक्रसका युवा स्वयंसेवकहरूको सक्रियता र व्यवस्थापनमा सञ्चालित सो कार्यक्रमको उद्घाटन युवा स्वयंसेवकहरू रविना चौंलागाईं र सुरजकुमार सिंहले संयुक्त रूपमा गरेका छन् । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवम् राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै नेपालले रेडक्रसमा आवद्ध जुनियर युवालाई मानवीय सेवाका विभिन्न गतिविधिमा सहभागी गराउँदै उनीहरूको सीप र दक्षता अभिबृद्धि गरी अगाडि ल्याउने संस्थाको उद्देश्य रहेको बताए । जलबायु परिवर्तनबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न अहिले रेडक्रसका युवाहरूबाट सञ्चालन भइरहेको परिवर्तक(द चेन्जमेकर) अभियानबाट महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले नीतिगत र कार्यक्रम गत तहमा युवाको भूमिकालाई विधानमा कसरी व्यवस्थित गरेर लैजान सकिन्छ भनेर छलफल र सुझाव संकलन गरिरहेको जानकारी गराए ।

कार्यक्रमका सभापति एवम् राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालले जुनियर युवा रेडक्रसको इतिहासमाथि प्रकाश पार्दै सबै जिल्लाका शिक्षण संस्था र समुदायमा जुनियर तथा युवाहरूको संलग्नतामा मानवीय सेवा प्रदान गर्ने सञ्जालको रूपमा नेपाल जुनियर र युवा रेडक्रस सर्कलको स्थापना, विकास र बिस्तार हुँदै आएको बताए ।

जुनियर तथा युवा रेडक्रसलाई नीतिगतरूपमा सबलीकृत गर्दै लैजाने सन्दर्भमा पहिलो पटक २०५६ सालदेखि राष्ट्रियस्तरमा जुनियर तथा युवा रेडक्रस नीति तथा कार्यप्रणाली तर्जुमा गरी कार्यान्वयनमा रहेको उनले जानकारी गराए ।

संयोजक नेपालले समयसापेक्ष रेडक्रसकोविधान संशोधनहुने प्रक्रियामा रहेको सन्दर्भमा रेडक्रसको संरचना अस्तित्वमा रहने सबै निकायहरूमा (पालिकादेखि राष्ट्रियस्तरमा) युवा सञ्जालको निर्माण गरी विधिवतरूपमा केन्द्रीयस्तरमा समेत युवा परिषद् गठन गर्ने र सो परिषद्को संयोजक नेरेसो केन्द्रीय कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था हुने गरी व्यवस्था गर्न पैरवी भइरहेको हँुदा नीति निर्माण तहमा युवाको सहभागिता सुनिश्चिततागर्ने पहलभइरहेको बताए ।

कार्यक्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल कार्यक्रम संयोजक हार्भे गजेउले चेञ्जमेकर अभियान प्रभावकारी रूपमा सञ्चालन गरेकोमा रेडक्रसका युवालाई धन्यवाद दिँदै युवाहरूको पहल र इच्छा शक्तिको सरहाना गरे । द चेञ्जमेकर (परिवर्तक) अभियान महासंघको सहयोगमा सञ्चालन भइरहेको छ ।
सो कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटी जुनियर युवा विभागका निर्देशक धर्मदत्त बिडारीले जलवायु परिवर्तनका क्षेत्रमा रेडक्रसका युवाद्वारा सञ्चालित परिवर्तक (चेञ्जमेकर) अभियानका बारेमा जानकारी गराउने, अभियानलाई देशव्यापी बनाउने र अन्य मानवीय सेवाका क्षेत्रमा युवाको सहभागितालाई अझ बढाउने कार्यक्रमको उद्देश्य रहेको बताए ।

‘म सेवा गर्छु’ भन्ने मूलमन्त्रका साथ २०२१ साल फागुन २२ गतेका दिन जुनियर युवा रेडक्रसको स्थापना भएको हो । अहिले देशभरमा ६ हजार ६३२ जुनियर तथा युवा रेडक्रस सर्कलमा ९ लाख ७० हजार ३१० जुनियर युवा सदस्यहरू आवद्ध भई मानवीय सेवाका गतिविधिमा संलग्न भइरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>