Breaking News
चितवनबाट हराएका बालक कसरी पुगे हेटौंडा ? परिवारले बालकलाई पोखरामै पढाउने

मधुसूदन दवाडी
चितवन, फागुन २०–
भरतपुरबाट बेपत्ता भएर हेटौंडामा भेटिएका १३ वर्षीय बालक निकेश बराललाई परिवारले पढाइ छुटाएर पोखरा लगेका छन् ।
ठूलो बुबासँग बसेर पढ्ने उनलाई ठूलो बुबा र विद्यालयले राख्न डराएपछि बुबा रघुनाथ बरालले पोखरा लगेका हुन् । बालकका ठूलो बुबा कमल बरालले सबैले पढ्नुमात्र भनेर दबाब दिने भएकोले दिक्क भएर हेडौंडाको बसमा चढेर गएको नारायणी अनलाइलाई बताए । उनले भने, ‘ सबैले पढ्नुपर्छ, पढ्नुपर्छ भन्ने भएकोले दिक्दार मानेर आफैँ गाडी चढेर हेटौंडातिर लागेछ । गाडी लिएर छोरा खोज्न आएको भाइसँग उसलाई आज पोखरा पठाएँ । राख्दा फेरि हराउँछ कि भन्ने डराएँ । विद्यालयमा शिक्षकले पनि रिक्स हुन्छ भने ।’
परिवारको अनुसार विद्यालयबाट कक्षा छुटेपछि उनी राजमार्गसम्म आए, रुटको बसले हेटौंडा–हेटौंडा भनिरहेको सुने र उनी हेटौंडाको बस चढेर लागे । प्रहरीले हेटौंडा प्रहरीलाई हराएको जानकारी गराएपछि गाडीबाट झर्नासाथ उनलाई हेटौंडा प्रहरीले नियन्त्रणमा लियो । बालकको ब्यागमा पुस्तक, कापी र कलमसहित ओछ्याउने म्याट र झुल पनि रहेको थियो । म्याट र झुल किन लग्यो भन्नेमा अझै परिवार आश्चर्यमा नै छन् ।
भरतपुर महानगरपालिका–६ चोकबजारमा रहेको ठूलो बुबाको घरबाट उनी म्याजिक चढेर शनिबार विद्यालयमा पढ्न पुगेका थिए । ट्युसन पढ्न बिहान ९ः३० बजे घरबाट हिडेका निकेश स्कुलमा ट्युसन पढेर १ः३० मा घर फर्किएपछि सम्पर्कमा नआएपछि परिवार खोजीमा लागेका थिए ।
ठूलो बुबा कमलले छोरो हराएपछि रातभरि चिन्ताले नसुतेको बताए । उनले भने, ‘ उसको खोजीमा रातभर सुतेको छैन । हेटौंडामा पुलिसले समातेर राखेछ । हेटौंडामा साँझ ४ बजेतिर गाडीबाट झरेको रहेछ । हामी आज बिहान सबेरै गएर लिएर आयौं ।’ उनले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट रहे पनि पढाइमा भने निकेश कमजोर रहेको बताए । उनले आफूले पोखरामा राम्रो पढेन भनेर यहाँ राम्रो पढ्छ भनेर ल्याएको जानकारी दिए । पोखराका क्याटरिङ व्यवसायी रघुनाथको दुई छोरीपछिको एक छोरा निकेश हुन् । उनी पढाइमा कमजोर रहे पनि नाच्न, गाउँन र बोल्न निकै चलाख रहेका थिए ।
निकेश अध्ययन गर्ने भरतपुरको ओमशान्ति एकेडेमीका प्रिन्सिपल टेकबहादुर श्रेष्ठले पनि निकेश पढाइँमा औषत रहे पनि नृत्य र गायनमा राम्रो विद्यार्थी रहेको बताए । उनले भने, ‘ निकेश ठूलो बुबाकोमा बस्ने हो । ठूलो बुबाले म राख्न सक्दिन भनेर लिएर जानुभयो । शनिबार ऊ कक्षामा राम्रोसँग बसेर पढेर सुरक्षा गार्डलाई बाई भनेर गएको थियो ।’ प्रिन्सिपल श्रेष्ठले अभिभावकको अनुरोधमा शनिबार निःशुल्क अतिरिक्त कक्षा लिइएको बताए ।