चितवन विशेष

चितवनकी सांसद रावल राष्ट्रियसभाबाट बिदा भइन्, अब पार्टी अभियानमा लाग्ने प्रतिबद्धता

Banner

चितवन, फागुन २०-

चितवनकी राष्ट्रियसभा सांसद पार्वती रावलको ६ वर्षे कार्यकाल आजबाट सकिएको छ ।

विसं २०७४ फागुन २१ गतेबाट उनले राष्ट्रिय सभाको सांसदको रुपमा कार्य प्रारम्भ गरेकी थिइन् । आज काठमाडौँमा औपचारिक बिदाइ कार्यक्रममा सहभागी भएकी रावलले अब पार्टीको केन्द्रीय अभियानमा सक्रिय रहने नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘ राष्ट्रिय सभामा नयाँ नियमावली निर्माणदेखि पहिलो संशोधनदेखि दोस्रो संशोधन गर्ने सम्ममा निकै सक्रिय रहेर ६ वर्ष बिताएँ ।  अब मेरा अनुभवहरुको आधारमा पार्टीको नीति निर्माण तहमा सक्रिय रहेर काम गर्छु । पार्टीको केन्द्रीय सदस्य रहेकोले पार्टीको अभियानमा सक्रिय रहनेछु ।’

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति बनेर उनले क्यान्सरसँग जुध्दै समितिका २३५  बैठक चलाइन् ।  एक कार्यकालमा अन्य समिति भन्दा उनको बैठक सबैभन्दा धेरै थिए भने राष्ट्रिय सरोकारका विषयमा सरोकारवालाहरुलाई झक्झक्याउन उनको भूमिका महत्वपूर्ण रह्यो । उनले हालसालै रुसी सेनामा भर्ती हुन गएका युवाहरूको उद्धारको आग्रहसहित सभापति रावलको नेतृत्वमा अन्य केही सांसद समेत परराष्ट्र मन्त्रालय पुगेर ध्यानाकर्षण गराएका थिए ।

रावललाई २०७९ कात्तिकमा ब्रेस्ट क्यान्सर पहिचान भयो तर पनि उनले संसदीय समितिको कामलाई निरन्तरता दिइन् । दिल्लीमा एक महिनाको उपचार गर्दाबाहेक समितिको बैठक रोकिएन । विसं २०७७ नेकपा विभाजन भएपछि चितवनमा पार्टी जिल्ला अध्यक्षको जिम्मेवारी रावलले सम्हालेकी थिइन् ।

तत्कालीन अवस्थामा पार्टी अध्यक्ष ओलीलाई चितवनमा उपस्थित गराएर १० औं महाधिवेशन ठूलो जनमानसको सहभागितामा कार्यक्रम गराउन सफल भइन् । पूर्वी चितवनको चैनपुरमा जन्मिएकी रावल २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनपछि ८ वर्षकै उमेरबाट पार्टी गतिविधिमा चासो राख्न थालिन् । आईए पढ्दा विद्यार्थी जीवनबाट उनी पार्टीको राजनीतिमा सक्रिय हुन थालेकी थिइन् ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>