देश/प्रदेश

लम्कीचुहाका ७५ हजारलाई पानी खुवाउने लक्ष्यसहित आयोजनाको शिलान्यास

Banner

कैलाली, फागुन १८-

लम्कीचुहा नगरपालिकाका १३ हजार घरधुरीमा कर्णाली नदीको पानी आपूर्तिको लक्ष्यसहित खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज लम्कीचुहा–३, कैलाशधाम बल्चौरमा लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको शुभारम्भ गर्नुभयो ।

लम्कीचुहाका पाँच वडामा १३ हजार सात सय ९५ घरधुरीका ७४ हजार चार सय ५० जनालाई पानी आपूर्तिको लक्ष्यसहित आयोजना सुरु गर्न लागिएको हो । “विगतमा लम्की क्षेत्रमा खानेपानीका विभिन्न प्रयास भएका थिए । सोहीअनुसार जेनतेन लम्की क्षेत्रमा पानीको व्यवस्थापन निरन्तर भएको थियो तर त्यस पानीमा चुनाको समस्या थियो”, मुख्यमन्त्री शाहले भन्नुभयो, “लम्कीचुहाबासीलाई स्वच्छ कर्णाली नदीकोे खानेपानी घरघरमा पुर्‍याउने लक्ष्यसहित लम्कीवासीको सपना साकार पार्न यो खानेपानी आयोजना अगाडि बढाइएको हो ।”

आयोजनाको निर्माण २०८२ साल भदौ नौ गतेसम्म गर्ने गरी सम्झौता भएको लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेजबहादुर चलाउने जानकारी दिनुभयो ।

कूल रु ९० करोडको परियोजना तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ । जसमध्ये पहिलो चरणमा कर्णाली नदीबाट लिफ्ट प्रविधिबाट पानी तानेर राखिने पाँच मिटर जमिनमुनि र पाँच मिटर जमिनभन्दा माथि गरी १० मिटरका पाँच वटा इनार निर्माण हुनेछ । त्यससँगै चार लाख ५० हजार लिटर क्षमता भएको भूमिगत ट्याङ्की पनि निर्माण गरिने निर्माण कम्पनी प्रशंसा कन्स्ट्रक्सनका सञ्चालक दीर्घराज जोशीले बताउनुभयो ।

पहिलो चरणको आयोजना निर्माणका लागि कूल १४ करोड ७७ लाख ९५ हजार छ सय १३ रुपैयाँ २५ पैसा लागत लाग्नेछ । जसमा खानेपानी मन्त्रालयको ७० प्रतिशत अर्थात् १० करोड ३४ लाख ५६ हजार नौ सय २९ रुपैयाँ २८ पैसा, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका २५ प्रतिशत अर्थात् तीन करोड, ६९ लाख ४८ हजार, नौ सय तीन रुपैयाँ ३१ पैसा र लम्कीचुहा नगरपालिकाको पाँच प्रतिशत अर्थात ७३ लाख ८९ हजार सात सय ८० रुपैया ६६ पैसा लगानी रहने छ ।

कर्णाली नदीबाट तानिएको पानीलाई पाइपमार्फत तीन हजार आठ सय मिटर बल्चौरबाट पश्चिमतर्फ ९लम्कीतर्फ० चार लाख ५० हजार लिटर क्षमता भएको अर्को ओभरहेड पठाइने निर्माण कम्पनीका इन्जिनियर मुकेश न्यौपानेले बताउनुभयो ।

लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष चलाउनेले आयोजनामार्फत लम्कीचुहाका वडा नंं १ र वडा नं २ मा पूर्ण तथा वडा नं ३, ४ र ५ मा आंशिकरुपमा कर्णाली नदीको पानी पुर्‍याइनेछ ।

“पुरानो प्रविधिका कारण पानीको गुणस्तरमा कमी आएको गुनासो उपभोक्ताबाट आइरहेको थियो । पाइपमा पानी अवरुद्ध हुने समस्या पनि आएको थियो । खानेपानीको निकै ठूलो समस्या हुने अवस्थामा हामी पुगेका थियौँ”, अध्यक्ष चलाउनेले भन्नुभयो, “समस्याको पहिचान भएपछि कर्णाली नदीको पानीलाई विकल्पक रुपमा लिँदै परियोजनाको निर्माण सुरु गरिएको हो ।”

परियोजन निर्माण भएपछि प्रतिसेकेन्ड एक सय आठ लिटरका दरले पानी आपूर्ति हुनेछ । शिलान्यास कार्यक्रममा मुख्यमन्त्रीसहित लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशीला शाही, उपप्रमुख जुना चौधरीलगायतका जनप्रतिनिधि, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेजबहादुर चलाउने, कार्यालय प्रमुख जगनाथ ढकाल, लम्कीचुहा–१ का वडाध्यक्ष नेत्रप्रसाद खनाल, वडा नम्बर ३ का वडाध्यक्ष लबबहादुर शाही, राष्ट्रियसभाका पूर्वसदस्य कमलाकुमारी ओली निर्माण कम्पनी प्रशंसा कन्स्ट्रक्सनका प्रतिनिधि र स्थानीयको सहभागिता थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>