चितवन विशेष
चितवनमा ग्यारेजभित्र लागुऔषधको डिलर, सञ्चालकसहित दुई प्रकाउ

चितवन, फागुन १७–
चितवनमा लागुऔषधसहित दुई जना प्रकाउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–११ बसेनीमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका प्रकाश श्रेष्ठसहित ग्यारेजमा काम गर्दै आएका एक युवालाई प्रकाउ गरेको हो ।
प्रहरीले उनीहरुलाई लागुऔषध दुव्र्यसनी सचेतना तथा न्यूनीकरण संस्थाको टिमको सहयोगमा नियन्त्रणमा लिएको संस्थाका संयोजक दिपक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘टोलमा एक युवा शंकास्पद हिसाबले लागुऔषधको सेवन गर्ने र बोक्ने गरेको पाइएपछि हामीले निरीक्षण गर्दा ग्यारेज सञ्चालकले ग्यारेजबाट बेच्ने गरेको पाइयो । सेवन गर्ने उसको कर्मचारी हो भन्ने थाहा भयो । त्यसपछि हामीले युवालाई सोही ग्यारेजमा लागुऔषध किन्न पठाएर टिमको सहकार्यमा रंगेहातसहित प्रकाउ गरेका छौं ।’
दिपकको अनुसार ८\१० वर्षदेखि लागुऔषध दुव्र्यसनीको धन्दा चलाएका प्रकाशबाट प्रयोग गरिएको तीन प्रकारको ३३ वटा सुई बरामद गरिएको छ । तर, एक महिना पहिला प्रहरीको सहयोगमा संस्थाले सोही ठाउँबाट १३ वटा सुई बरामद गरे पनि कर्मचारीले मेरो हो भनेपछि प्रकाश प्रकाउ नपरेको दिपकले बताए ।

अहिले सम्म संस्थाले दुव्र्यसनीमा फसेका २०० जनालाई सम्झाएर परिवारको जिम्मा लगाएको र ५० जनालाई प्रहरीको जिम्मा लगाएको संस्थाका सचिव रेशम सापकोटाले जानकारी दिए । युवा दुव्र्यसनमा फस्दा देश बिग्रने भन्दै उनले भने, ‘आज हामीले डिलरको रुपमा दुव्र्यसनी गर्दै आएका प्रकाशलाई प्रकाउ गरेर प्रहरीमा बुझाएका छौँ । अब प्रहरीले उसलाई कारबाही गर्छ\गर्दैन निगरानी गर्छौ ।’ उनका अनुसार संस्थाले दुव्र्यसनीमा फसेका युवालाई प्रकाउ गर्न जाँदा छुरा भेट्ने गरेको र गणेशथान टोल विकास संस्थाको अध्यक्षलाई दुव्र्यसनीमा फसेका व्यक्तिले प्रकाउ गर्न जाँदा सुई प्रहार गरेपछि अहिले उनको उपचार भइरहेको रेशमले जानकारी दिए । रेशमका अनुसार गणेशथान महानगरभित्रको धेरै जंगल, ठूलो भूगोल, जनसंख्या धेरै भएको र बाहिरबाट पनि युवाहरु आएर लागुऔषध सेवन गर्ने ठाउँ हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका नायव उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले बरामद गरिएको लागुऔषधको धेरै नभए पनि आरोपित प्रकाशले डिलरको रुपमा काम गर्ने गरेको र लागुऔषध उसकै गोझीबाट बरामद भएकोले यसलाई गम्भीर रुपमा लिइने जानकारी दिए । उनका अनुसार हिरासतमा रहेका प्रकाशलाई म्याद थप गरेर अनुसन्धान गरिँदै छ ।
























