Breaking News

प्राध्यापक डा गोविन्द केसी चेपाङ समुदायको स्वास्थ्य जाँच गर्न चितवनमा

Banner

चितवन, फागुन १७-

प्राध्यापक डा गोविन्द केसीले बिहिबार दिनभर चितवनका चेपाङ समुदायको उपचारमा खटिएका छन् । उनले कालिका नगरपालिका १० सिद्धस्थित तीनदोभानमा यस क्षेत्रका चेपाङ समुदायको स्वास्थ्य परीक्षण गरेका छन् । काम बिशेषले चितवन आएका उनले एक दिन फुर्सद मिलाएर चेपाङहरुको उपचारमा खटिएको बताए । उनी भोलि शुक्रबार काठमाडौँ फर्कदै छन् । केसी हाडजोर्नी रोग विशेषज्ञ हुन् । उनले चेपाङहरुको स्वास्थ्य परीक्षण गर्नुकासाथै स्वास्थ्य सल्लाह दिएका छन्  । उनले ६० जनाको स्वास्थ्य परीक्षण गरेका छन् ।

स्वास्थ्य परीक्षणमा खटिएका उनले आफू देशको सबै जिल्लामा स्वास्थ्य परीक्षणको लागि पुगिसकेको बताउँदै चितवनका चेपाङसँग पनि भेटघाटका लागि आएको बताए । उनले आफूलाई गरिब र विपन्न समुदायको उपचारमा खटिँदैमा आत्मसन्तुष्टि मिल्ने बताए । उनले भने, ‘ यसरी उपचारमा खटिने गरेको ३०/३५ वर्ष बढी भयो । म यसैमा सन्तुष्ट छु । चितवनका ग्रामीण भेगमा पनि धेरैचोटी आएको छु । शिविर गरेको छु । ’

‘स्वास्थ्य क्षेत्र नाफामूलक क्षेत्र होइन’

चेपाङ समुदायको स्वास्थ्य परीक्षणमा खटिँदै गरेका प्राध्यापक डा केसीले देशको स्वास्थ्य क्षेत्र नाफामूलक क्षेत्र नभई सेवामूलक क्षेत्र भएको बताएका छन् । उनले संविधानमा नै ग्यारेन्टी गरिएको आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने विचार राखे । सरकारले निःशुल्क भनेका औषधिहरु पनि निःशुल्क उपलब्ध गराउन नसकेको उनले बताए । केसीले भने, ‘ग्रामीण क्षेत्रका अस्पतालहरुमा चिकित्सकहरुको दरबन्दी नै पुगेको छैन । पुरानै दरबन्दीमा अहिलेका अस्पतालहरु चलेका छन् । निःशुल्क उपचार दिने राज्यको दायित्व भएकोले सरकारी अस्पतालहरु निःशुल्क हुनुपर्छ ।’

डा केसीले राजनीतिक दलका नेताहरुलाई व्यङ्ग्य गर्दे देश समाजवादी र साम्यवादी बाहेकले चलाएका छैनन् तर पनि देशको हालत नाजुक भएको विचार राखे । उनले भने, ‘ नेपालमा गरिब, बिपन्न र मध्यवर्गीयहरुले उपचार नै गर्न सक्दैनन् । अकालमा ज्यान गुमाउनुको विकल्प छैन । ठूला नेताहरु विदेशमा गएर उपचार गर्छन् । ’ संविधानले दिएको आधारभूत अधिकार पनि नागरिकले उपभोग गर्न नपाएको भन्दै आक्रोश व्यक्त गरे । उनले राजनीतिक दलका शीर्ष नेताहरुले भ्रष्ट, कालोब्यापारी, दलाल र बिचौलियाको पक्षमा लागेको आरोप लगाए । उनले भने, ‘ सरकारले नागरिकको अवस्था हेरेर भन्दा पनि भ्रष्ट, दलाल र मतियारहरुको लागि नियम, कानुन बनाउने काम गर्छ ।’

‘कानुन सबैलाई बराबर हुनुपर्छ’

प्राध्यापक डा केसीले अख्तियार अनुसन्धान आयोगले राजनीतिक नेताहरुको चाकडी गरिरहेको आरोप लगाए । लोकतन्त्रमा कानुन सबैलाई बराबर हुनुपर्छ । तर, देश लुट्नेहरुलाई छुट दिइएको भन्दै उनले मिलेर खाने भ्रष्टचारको कुरामा सबै नेताहरु एक हुने गरेको विचार राखे । उनले भने, ‘ आम नागरिकलाई सजाय हुन्छ । नेताहरुलाई सजाय हुँदैन । मानव अधिकारको क्षेत्रमा आफ्नै मानिस भर्ती गरिरहेका छन् । सबै नागरिकप्रति जवाफदेही हुनुपर्छ ।’

रवि लामिछानेलाई जनताप्रति इमान्दार बन्न डा केसीको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुझाव दिँदै प्रा डा केसीले लामिछानेले जनताको वाचा इमान्दारीका साथ पूरा गर्नुपर्ने विचार राखे । उनले भने, ‘ देशमा विधिको शासन स्थापित हुनुपर्छ । जनताको हकहितमा काम गर्नुपर्छ । निजी स्वार्थ हुनु हुँदैन ।

आफ्नो प्रयासले स्वास्थ्य क्षेत्रमा सुधार भएको दाबी

डा केसीले आफ्नो निरन्तरको अनशन र संघर्षको परिणाम स्वरुप स्वास्थ्य क्षेत्रमा केही सुधारहरु भएको बताए । उनले आफ्नो निरन्तरको अनशन र आन्दोलनले चिकित्सा शिक्षा क्षेत्रमा मनोमानी शुल्क लिने, छात्रवृत्तिका कोटाहरु वृद्धि भएको र निःशुल्क पढ्न अवसर थपिँदै गएको विचार राखे । उनले भने, ‘ अहिले डाक्टर पढ्न मनोमानी शुल्क लिने क्रम रोकिएको छ । काठमाडौभित्र साढे ३८ लाख र बाहिर ४२ लाख रुपैयाँ लिने परिपाटी कायम भएको छ । विशेषज्ञ पढाइका लागि २२ लाख तिरे पुग्छ । तलब पनि पाउँछन् । परीक्षा र मेरिट लिस्ट पनि व्यवस्थित बनेको छ ।’ मेरिट लिस्टमा परेकाले कलेज छानेर पढ्न पाउनु यो क्षेत्र थप व्यवस्थित बन्दै गएको उदाहरण भएको बताए ।’

दुर्गा प्रसाइँ पेसेबर अपराधि भएको आरोप

डा गोबिन्द केसीले दुर्गा प्रसाइँलाई पेसेबर अपराधि भएको आरोप लगाएका छन् । उनले आफूविरुद्ध धेरैपटक मुद्दा हालेर दुःख दिएको बताए । उनले भने, ‘ दुर्गा प्रसाइँले पहिले प्रचण्ड पछि केपी ओलीलाई प्रयोग गरेको छ । अहिले राजातिर लागेको छ । आरजु देउवातिर पनि लाग्छ । शीर्ष नेताको समकक्षमा हुन्थेन भने जेलमा हुन्थ्यो ।’ डा केसीले प्रसाइँले बिरामी ठगिरहेको आरोप लगाए । उसको कलेज खोल्नमा आफूले रोकेर नराखेको केसीले स्पष्ट पारे । भ्रष्टहरुले सामाजिक मिडियाहरुलाई प्रयोग गरेर नागरिकको दिमाग भुटिरहेको भन्दै दुःख पनि व्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>