कृषि

बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली

Banner

राँझा (बाँके),फागुन १७-

बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने सर्वसाधारणको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । मध्यवर्ती क्षेत्रका बस्तीमा जङ्गली जनावरबाट बाली जोगाउन सर्वसाधारणलाई मुस्किल भएको छ ।

जङ्गली जनावरबाट बाली जोगाउन राप्ती सोनारीका मध्यवर्ती क्षेत्रमा पर्ने वडा कार्यालयले यो वर्ष तारजाली लगाउने तयारी गरेका छन् । अन्य कुनै उपाय नभएपछि तारजाली लगाउने योजना अगाडि सारेको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिनुभयो ।

“निकुञ्जबाट आउने जनावरले जनताको बालीमा नोक्सानी पुर्याउने क्रम नरोकिएपछि तारजाली लगाउने प्रक्रिया अगाडि बढाएका छौँ”, वडाध्यक्ष थारूले भन्नुभयो, “यो वर्ष बढी प्रभावित क्षेत्रमा तारजाली लगाउने कार्य सुरु भएको छ ।”

राप्ती सोनारी–९ मा रहेको झिझरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा चार सय ७५ मिटर तारबार लगाइने वडाध्यक्ष थारूको भनाइ छ । बाँकेमा निकुञ्जसँग जोडिएको बैजनाथ गाउँपालिका–१ को चिसापानी, गाभर, कोहलपुर नगरपालिका–१३ को खड्कवार, भरैया र राप्ती सोनारी गाउँपालिका–९ को महादेवा, बुच्चापुर, वालापुर, वडा नं ८ को शम्शेरगञ्ज, गोठेरी, बाँदरभरिया र वडा नं १ को खासकुस्माका गाउँबस्तीमा जङ्गली जनावर प्रवेश गरी अन्न बाली नष्ट गरिदिएपछि सर्वसाधारण चिन्तित छन् ।

जङ्गली जनावरले आलु, तोरी, मकै, गहँुलगायतका हिउँदे तथा बर्खेबालीमा बढी नोक्सानी पुर्याउने गरेको राप्ती सोनारी गाउँपालिका–९ बुच्चापुरका लीला परियारले बताउनुभयो । उहाँले यो मौसममा आफ्नो पाँच कठ्ठा क्षेत्रफलमा लगाएको तोरी जनावारले नष्ट गरिदिएको जानकारी दिनुभयो । उहाँका अनुसार आलु, मकै र तोरी बाली बँदेलले बढी मन पराउने भएकाले यो समयमा बँदेलको बिगबिगी हुने गरेको छ ।

कोहलपुर नगरपालिका–१३ खड्कावारका स्थानीय अगुवा शिक्षक दुर्गा डाँगीले जङ्गली जनावारले खेतीबाली खाइदिएर ठूलो क्षति पुर्याएको बताउनुभयो । “मेहनत गरेर वर्ष दिनभरि खाने खेती उब्जनी गर्यो जनावरले खाइदिन्छन्”, डाँगीले भन्नुभयो, “जङ्गली जनावारका कारण गाउँलेको उठिबास हुने हो कि भन्ने चिन्ता छ ।”

राप्ती सोनारी गाउँपालिका–८ नं वडा कार्यालयले पनि जङ्गली जनावर नियन्त्रणका लागि मध्यवर्ती क्षेत्रको जङ्गल क्षेत्रमा तारजाली निर्माणलाई प्राथमिकता दिएको छ । यो वर्ष मध्यवर्ती क्षेत्रको अमुवागाउँमा करिब तीन सय मिटर तारबार मेसजाली लगाउने योजना रहेको वडाध्यक्ष शालिकराम डाँगीले बताउनुभयो ।

राप्ती सोनारी–१ खासकुस्माका गाउँबस्तीमा जङ्गली जनावरले धेरै दुःख दिने गरेको वडाध्यक्ष यमबहादुर खड्का बताउनुहुन्छ । उहाँले राप्ती सोनारी गाउँपालिकाले विगतका वर्षमा तारजालीको योजना ल्याए पनि गत वर्ष र यो वर्ष कुनै काम हुन नसकेको उल्लेख गर्नुभयो । तारजाली लगाएपछि जङ्गली जनावरबाट हुने क्षति केही कम भएको उहाँको भनाइ छ ।

पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके निकुञ्जको कोहलपुरबाट शिवखोलासम्म पूर्व–पश्चिम राजमार्गको दूरी ७२ किलोमिटर रहेको छ । निकुञ्जभित्र पर्ने तीन सय ४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा निकुञ्जले पनि तारजाली निर्माण गर्ने गरेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत कुननारायण चौधरीले जानकारी दिनुभयो ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट मानव तथा बालीनालीमा हुने क्षति न्यूनीकरण गर्न मध्यवर्ती क्षेत्रमा तारबारका लागि सङ्घीय सरकारसँग योजना माग गरिएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>