चितवन विशेष
कविडाँडा साहित्य समाज चितवनले सर्वनाम थिएटरमा राष्ट्रिय नाटक विमर्श गर्ने

चितवन, फागुन १६-
चितवनको कविडाँडा साहित्य समाजले राष्ट्रिय नाटक विमर्श गर्ने भएको छ ।
नाट्य क्षेत्रमा जागरण ल्याउने उद्देश्यले सर्वनाम थिएटर काठमाडौँमा चैत १० गते विमर्श गर्न लागेको हो ।
विमर्शमा नाट्यकर्मीहरुलाई सम्मान गर्नुको साथै नाटकको प्रस्तुति, कार्यपत्र प्रस्तुति, प्यानल डिस्कसनलगायतका कार्यक्रम गरिने समाजका अध्यक्ष एलबी क्षेत्रीले नारायणी अनलाइनलाई जानकारी दिएका छन् । उनले भने, ‘ वर्षमा एउटा राष्ट्रिय कार्यक्रम गर्ने समाजले यसपटक ओझेलमा परेको नाट्य क्षेत्रमा जागरण ल्याउने लक्ष्य राखेको छ ।’
समाजले हरेक वर्ष उत्कृष्ट कथा र उपन्यासलाई एक लाख २५ हजार रुपैयाँको आख्यान पुरस्कार दिँदै आएको छ भने चितवनबाट प्रकाशित आख्यान कृतिहरुलाई पनि हरेक वर्ष १५ हजार राशीको पुरस्कार समाजले प्रदान गर्छ । २०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले साहित्यसम्बन्धी गोष्ठी, प्रतियोगिता र पुरस्कारहरु स्थापित गरेर चितवनलाई साहित्यको हब बनाउन महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

























