कृषि

चितवनका दुग्ध किसान आन्दोलित, भोलि राजमार्गमा चक्काजाम गर्दे

Banner

चितवन, फागुन १६–

चितवनका दुग्ध किसान आन्दोलित भएका छन् ।

दूधको भुक्तानी नभएको र भारतीय दूध आयात गरिएको विरोधमा किसानहरु आन्दोलित भएका हुन् ।

चितवन दुग्ध उत्पादक सहकारी संघको आयोजनामा हुने विरोध कार्यक्रमअन्तर्गत भोलि बिहीबार खैरहनी नगरपालिका–१ को ज्यामिरे चिस्यान केन्द्र अगाडि राजमार्गमा किसानहरुले प्रदर्शन गर्ने तयारी रहेको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए । बिहान १० बजेबाट १२ बजेसम्म राजमार्गमा किसानहरुले चक्काजाम गर्ने जनाइएको छ । बगालेले किसानहरुले दूधको पैसा भुक्तानि नपाउनुको साथै भारतीय दूधको आयात बढ्दै गएकोले किसानहरु आन्दोलनमा उत्रनु परेको बताए । उनले केन्द्रीय दुग्ध सहकारी संघको आयोजनामा चितवनसहित देशव्यापी चक्काजामको कार्यक्रम तय गरिएको बताए ।

दुग्ध सहकारी संघले दुधको बक्यौता रकम माग गदै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । दुधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दूधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गरेका छन् ।

यस्तै, बिक्री नभएको दूधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न, खोरेत रोग मुक्त घोषणा गरी दूध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन किसानहरुले माग गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>