Breaking News
भ्रमण वर्ष उद्घाटन अघि भरतपुरको मुख्य सडकलाई धुलोरहित बनाइने, तीव्र गतिमा काम गरिँदै

पुजा ढकाल
चितवन, फागुन १४-
भरतपुरको पुल्चोक–गोन्द्राङ सडकमा पहिलो तहको कालोपत्रेको काम भ्रमण वर्षको उद्घाटन अगाडि नै सक्नेगरी तीव्र गतिमा काम भइरहेको छ ।
फागुन १८ गते नारायणी किनारमा हुने भ्रमण वर्षको कार्यक्रमलाई लक्षित गरेर कामलाई तीव्र बनाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो ।
‘घुमौं भरतपुर’ भन्ने मूल नाराका साथ सुरु गरिने भ्रमण वर्ष उद्घाटनको दिनसम्म भरतपुरको मूल सडक धुलो रहित बनाउने गरी काम गरेको निर्माण कम्पनीले दाबी गरेको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एक तहको सडक निमार्णको काम फागुन १७ गते सम्म सक्ने निर्माण कम्पनीको प्रतिबद्धता जनाएपछि भ्रमण वर्षको उद्घाटन फागुन १८ मा गर्ने तय भएको बताए ।
अधिकारीले पुस १६ गते (जनावरी–१) मा उद्घाटन गर्ने भनिएको भ्रमण वर्ष सडक निमार्ण सम्पन्न नहुँदा र बजार क्षेत्र धुलाम्य हुँदा फागुनमा सारिएको जानकारी दिए । उनले भने, ‘उद्घाटनको दिनसम्म एक तहको कालोपत्रे सम्पन्न गर्ने गरी निर्माण कम्पनीले दिन रात गरेर काम गरेको छ । तर, उक्त दिनसम्म कालोपत्रेको काम नसकिने हो कि भन्ने लागेकोले हामी पानी हालेर धुलो मार्ने व्यवस्था गछौँ ।’

भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ८० प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहका अनुसार अहिले चौबिसकोठी क्षेत्रमा ढलानको काम सम्पन्न भएको छ भने पुलचोकदेखि वीरेन्द्र क्याम्पस गेटसम्म पहिलो तहको कालोपत्रेको काम हुँदै छ । उनले भ्रमण वर्षको उद्घाटनको मिति नजिकिएसँगै निर्माण कम्पनीले तीव्र गतिमा काम गरेकोले यो हप्ता सम्म पहिलो तहको सबै काम सकिने र धुलो रहित भरतपुर बन्ने बताए । उनले भने, ‘बेसको काम गर्न समय लाग्ने भएकोले केही ढिलाइ भएको हो । तर, कालोपत्रे गर्न समय नलाग्ने भएकोले यो हप्ताको सेरोफेरोमा पहिलो तहको कालोपत्रेको काम सकिन्छ र भरतपुर धुलोरहित सडक बन्छ ।’ त्यस्तै उनले बजेट बिनियोजनको लागि फाइल अर्थमन्त्रालयमा पुगेको र चाडै बजेट आए निर्माण कम्पनीले यही गतिमा काम गर्ने र भदौ सम्ममा सडकको निमार्णको सबै काम सकिने बताए ।
निर्माण कम्पनीले २०७७ माघ २८ भित्र सडक बिस्तार गरिसक्ने भन्दै कामको जिम्मा लिएको थियो । सो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको हो । अन्तिमपटक भदौसम्म सक्नेगरी म्याद थप गरिएको छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यलाई समेत ख्याल गरी छ दशमलब आठ किलोमिटर लामो सडक बिस्तारको काम थालिएको हो । सडकको लागत एक अर्ब ७६ करोड छ । भौतिक प्रगति ८० प्रतिशत भए पनि बित्तीय प्रगति ७० प्रतिशतमात्र भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

























