चितवन विशेष
भरतपुरमा पूर्वाधार विकास पर्याप्त भयो, अब रोजगारी सिर्जना र उद्यमशिलता: प्रमुख रेनु दाहाल

चितवन, फागुन १४-
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार रोजगारी र उद्यमशिलताको विकास रहेको बताएकी छन् ।
भरतपुर–२२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रर्याप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरेकी हुन् ।
महानगरपालिकामा बिगत सात वर्षमा पूर्वाधार विकासमा उल्लेखनीय काम भइसकेकाले अब भरतपुरवासीलाई उद्यमशिलतामा लगाइने उनको भनाइ छ । ‘भरतपुरमा एकै वडामा ५० किमीभन्दा बढी कालोपत्रे सडक निर्माण भइसेका छन्’,उनले भनिन्,‘शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिमा पनि धेरै काम भएका छन् । अब भरतपुरमा रोजगारी सिर्जना गर्ने प्रमुख एजेण्डा हाम्रो छ ।’
वडा नम्बर २२ को वडा कार्यालय निर्माण भएपछि व्यवस्थित ढंगबाट सेवा प्रवाह हुने अपेक्षा लिएको प्रमुख दाहालले बताइन् । वडा कार्यालयसँगै निर्माण भएको १६ शैयाको अस्पताललाई विषेशज्ञ सेवासहित नगरस्तरीय वा वडास्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने प्रमुख दाहालको भनाइ छ । दुई तले वडा कार्यालय निर्माण गर्न एक करोड ३२ लाख रुपैयाँ खर्च भएको वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
यस्तै वागमती प्रदेश सरकारको एक करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । केन्द्र सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको प्रदर्शनी गर्न सहज हुने अपेक्षा लिइएको छ ।
एशियाली विकास बैंक÷जेएएफपीआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत एक करोड ६६ लाखको लागतमा १६ शैयाको अस्पताल निर्माण भएको हो । यसको स्वमित्व सोमबार नै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले पटिहानी क्षेत्रमा विगत सात वर्षको अवधिमा धेरै विकास निर्माणको काम भइसकेको उल्लेख गरे । भरतपुर वडा नम्बर २२ ले पर्यटन, खेलकुद, कृषिलगायतका क्षेत्रमा प्राथामिकताका साथ काम गरिरहेको उनले बताए । भरतपुर भ्रमण वर्ष–२०२४ लाई सफल बनाउन पटिहानी क्षेत्रले विषेश कामहरु अगाडि बढाइरहेको उनको भनाइ छ । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले मन्तव्य राखेका छन् ।

























