Breaking News

एक्सपर्ट भरतपुर मेयर्स कपः सेमीफाइनल समीकरण पुरा

Banner

चितवन, फागुन १३–

एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ । आज भएको समूह ‘ए’ खेलमा वाल्मीकिलगातार जित निकालेसंगै सेमीफाइनल समीकरण पुरा भएको हो ।

आइतबार वाल्मीकि शिक्षा सदनले अंकुरम एकेडेमीलाई सहजै पराजित गरेसंगै समूहको विजेता र उपविजेता टुंगो लागेको हो । यस समूहबाट वाल्मीकि ४ खेलबाट शतप्रतिशत जितका साथ ८ अंक जोड्दै समूह विजेताको रुपमा सेमीफाइनल पुग्यो भने नारायणी नमुना मावि ४ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै समूहको उपविजेताको रुपमा सेमीफाइनल स्थान सुरक्षित गर्‍यो ।

आजको दोस्रो खेलमा वाल्मीकिले अंकुरम एकेडेमीलाई ५४ रनले पराजित गर्दै लिगमा अपराजित यात्रा कायम गर्न सफल भयो । पहिले व्याटिङ गरेको वाल्मीकि ७ विकेटको क्षतिमा १५० रन जोड्यो । उसका लागि आदर्श ढकालले ५२ बलमा ६२ रन बनाए भने यमन कँडेलले २९ बलमा ४० रन बनाए । अंकुरमका लागि मनोज सापकोटाले ४ ओभरमा ४० रन खर्चिदै २ विकेट लिए भने इन्सिप पौडेलले ४ ओभरमा २० रन खर्चिदै २ विकेट लिए ।

१५१ रनको लक्ष्य पछ्याएको अंकुरम ९६ रनमै समेटियो । वाल्मीकिका अभेन्जल थापाले ४ ओभरमा एक मेडनसहित १९ रन खर्चिएर ३ विकेट लिए । खेलमा वाल्मीकिका आदर्श ढकाल प्लेयर अफ दि म्याच घोषित भए ।

यस्तै आजै भएको पहिलो खेलमा सनराइज इङलिस स्कुलले प्रभात माविलाई ५४ रनले पराजित गर्दै समूह ‘बी’को उपविजेताको रुपमा सेमीफाइनल स्थान सुरक्षित गर्‍यो । पहिले व्याटिङ गरेको सनराइज १९.३ ओभरमा १०२ रनमा अलआउट भयो । उसका लागि मन्दिप यादवले १७ र आदित्य सिंहले १३ रन बनाए । प्रभात माविका लागि सन्देश वि.क.ले २ ओभरमा १८ रन खर्चिदै २ विकेट लिए भने अविनाश सापकोटाले ४ ओभरमा २१ रन खर्चिदै २ विकेट लिए ।

१०३ रनको विजय लक्ष्य पछ्याएको प्रभात मावि १३.३ ओभरमा ४८ रनमै अलआउट भयो । प्रभातका सुन्दर चापागाईले सर्वाधिक ६ रन बनाए । सनराइजका लागि अश्रय कंडेलले २ ओभरमा ७ रन खर्चिदै ४ विकेट लिए भने उज्वल पटेलले ३ ओभरमा ७ रन खर्चिदै २ विकेट लिए । खेलमा सनराइजका अश्रय कंडेल प्लेयर अफ दि म्याच घोषित भए ।
यस समूह ‘बी’बाट अर्किड स्कुल ४ खेलमा ८ अंकका साथ समूह विजेताको रुपमा यसअघि नै स्थान सुरक्षित गरि सकेको थियो ।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा वाल्मीकि शिक्षा सदन र सनराइज स्कुलबीच प्रतिस्र्धा हुनेछ भने दोस्रो सेमीफाइनलमा अर्किड स्कुल र नारायणी नमुना माविबीच प्रतिस्पर्धा हुनेछ । सेमीफाइनल खेल फागुन १६ गते हुनेछ ।

भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भइरहेको प्रतियोगितामा कुल २० विद्यालयको सहभागिता रहेको थियो । जसमध्ये १० टोली लिग चरणमा प्रवेश गरेको थियो भने १० टोली नकआउट चरणबाटै बाहिरिएको थियो । प्रतियोगिताको फाइनल खेल फागुन १९ गते शनिबार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>