Breaking News

एक्सपर्ट भरतपुर मेयर्स कपः अर्किड समूह विजेताको रुपमा सेमीफाइनलमा प्रवेश र लक्ष्मी माविको सान्त्वना जित

Banner

चितवन, फागुन १२–

एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा चरणमा लगातार जितसंगै अर्किड सेकेण्डरी स्कुल सेमीफाइनल प्रवेश गरेको छ भने लक्ष्मी माविले सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

आज (शनिबार) आफ्नो लिग चरणको अन्तिम खेलमा इडेन गार्डेन स्कुललाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा सेमीफाइनल स्थान सुरक्षित गरेको हो । अर्किड लिग चरणमा सनराइन इङलिस स्कुल, प्रभात मावि, विश्वप्रकाश मावि र इडेन गार्डेन स्कुललाई पराजित गर्दै ४ खेलमा ८ अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो । यो समूहबाट समूह उपविजेताको रुपमा सनराइन इङलिस स्कुल सेमीफाइनल पुग्ने उच्च संभावना रहेको छ । सनराइन ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने अन्तिम खेलमा भोलि प्रभात माविसंग खेल्नेछ ।

अर्किडले शनिबार इडेन गार्डेन विरुद्धको अन्तिम खेलमा टस जिते पहिले व्याटिङ रोज्दै १९० रनको लक्ष्य पेश गरेको थियो । अर्किडका लागि सगुन सापकोटाले अर्किडका लागि शतकिय इनिङ खेले । उनले ७१ बलमा १०९ रन बनाएर आउट भए । सगुनको शतक यस प्रतियोगिताको पहिलो र एक मात्र रहेको छ । मन्दिप बरालले १६ बलमा २२ रनमा अविजित रहे । इडेन गार्डेनका लागि प्रवेश अधिकारीले २ र अवि सिंहले एक विकेट लिए ।

१९० रनको विशाल लक्ष्य पछ्याएको इडेन गार्डेन ८१ रनमै अलआउट हुन पुग्यो । उसका लागि विपिन रानामगरले सर्वाधिक २२ रन कुशल ठेनीले २० रन बनाए । इडेन गार्डेनलाई सस्तैमा समेट्न अर्किडका सन्देश सुवेदीले ४ ओभरमा १६ रन मात्रै खर्चिदै महत्वपूर्ण ५ विकेट लिए भने सगुन सापकोटाले बलिङबाट पनि ४ ओभरमा १२ रन खर्चिदै ४ विकेट लिन सफल भए । सगुन खेलको प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगितामा भोलि हुने सनराइन र प्रभात माविको खेलमा सनराइन विजयी भएको खण्डमा भने इडेन गार्डेनले विश्वप्रकाश माविसंग खेल्ने अन्तिम खेल सान्त्वन जितको लागि मात्रै हुनेछ । इडेन गार्डेन ३ खेलमा २ अंक मात्रै बटुल्न सकेको छ ।

यसैबीच आज (शनिबार) नै भएको समूह ‘ए’ अन्तरगतको दोस्रो खेलमा लक्ष्मी माविले सान्त्वना जित निकालेको छ । आफ्नो अन्तिम खेलमा लक्ष्मी माविले गंगानगर माविलाई ९ रनको झिनो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको लक्ष्मी मावि १८.२ ओभरमा अलआउट हुँदै ८५ रन बनायो । उसका लागि भविन्द्र रोकायले २३ र कुन्दन यादवले १६ रन बनाए । गंगानगर माविका लागि उर्बर तामाङले ४ ओभरमा एक मेडनसहित १४ रन खर्चिएर ४ विकेट लिए भने रुपेश महतोले आफ्नो पहिलो ओभरको लगातार दुई बलमा दुई विकेट लिए ।

८६ रनको लक्ष्य पछ्याएको गंगानगर मावि १३.४ ओभरमा ७६ रनमा अलआउट भयो । उसका लागि विश्वास तामाङले २८, मोहित विकले १० रन बनाए । गंगानगरलाई अलआउट गर्न कुन्दन यादवले ४ ओभरमा १५ रन खर्चिदै ४ विकेट लिए भने समीर गैरेले २.४ ओभरमा १० रन खर्चिदै ३ विकेट लिए । खेलमा लक्ष्मी माविका कुन्दन यादव प्लेयर अफ दि म्याच घोषित भए ।

यस समूह ‘ए’बाट लगातार ३ खेलबाटमा जित निकाल्दै वाल्मीकि शिक्षा सदन ६ अंकको साथ शीर्ष स्थानमा रहेको छ भने नारायणी नमुना मावि ४ खेलमा ३ जितका साथ ६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ भने अंकुरम एकेडेमी ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ । यस समूहको अन्तिम खेलमा भोलि (आइतबार) दिउँसो १ बजे वाल्मीकि र अंकुरम एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । यस खेलमा अंकुरम विजयी भए तीनै टोलीको समान ६ अंक हुनेछ भने नेटरनरेटको आधारमा सेमीफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । अंकुरम पराजित भएमा वाल्मीकि र नारायणी सेमीफाइनल प्रवेश गर्नेछ ।

भोलि (आइतबार) पहिलो खेलमा सनराइज सेकेण्डरी स्कुल र प्रभात माविबीच प्रतिस्पर्धा हुनेछ ।

भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भइरहेको प्रतियोगिताको फाइनल खेल फागुन १९ गते शनिबार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>