Breaking News
चितवनमा सात महिनामा सय जनाले त्यागे नागरिकता

निरुता बि क,
भरतपुर, फागुन ११-
नेपाली नागरिकता त्याग्नेको संख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्ममा नेपाली नागरिकता त्याग्नेको संख्या बढेको हो ।
नेपालको राजनीतिक अस्थिरता, बढ्दो बेरोजगारी र आर्थिक समस्याको कारणले रोजगारीको खोजी गर्दैै विदेश गएका नेपालीहरूले स्वदेशी नागरिकता त्यागेर विदेशी नागरिकता लिने क्रम बढेको छ । प्रशासन कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा ११, आव २०७६/७७ मा एक, आव २०७७/७८ मा चार जनाले नागरिकता त्यागेका थिए । यस्तै आव २०७८/७९ मा पाँच जना, आव २०७९/८० मा ५ जना र चालु आर्थिक वर्षको माघ महिनासम्ममा एक सय जना नेपालीले नागरिकता त्यागेका छन् ।
पछिल्लो समय यता विकशीत देश अमेरिका, अष्ट्रेलिया, बेलायत जस्ता देशमा बसोबास गर्नको लागि नेपाली नागरिकता त्याग्ने गरेको चितवन बार एशोसिएसनका सचिव श्रीराम दवाडीले बताउनुभयो । सचिव दवाडीले दोहोरो नागरिकता लिँदा कैद सजाय हुन्छ भनी सचेतना भएकोले पनि नागरिकता त्याग्नेको संख्या बढ्दै गएको हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा दोहोरो नागरिकता नपाउने मान्यता छ । पहिला धेरै नेपालीहरु विदेश जाने विदेशमै बस्ने र नागरिकता विदेशकै लिने तर नेपाली नागरिकता त्याग नगर्ने गर्दथे । दोहोरो नागरिकता लिँदा कैद सजाय हुने भएकाले मानिसहरु अहिले धेरै सचेत भएका छन् । जसकारण नेपाली नागरिकता त्याग्ने गर्छन् ।’
उहाँले विकसित देशमा भविष्य राम्रो हुन्छ भनी नेपालमा भएको सम्पत्ति पनि बेचेर विदेशमा लगानी गरी विदेश जानेको संख्या बढ्दै गएको बताउनुभयो । अधिवक्ता कल्पना उप्रेतीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्नको लागि नेपाली नागरिकता त्याग गरी विदेशी नागरिकता लिनेको संख्या बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र जन्मको आधारमा निज वा निजको बुबा वा आमा, बाजे वा बजै नेपालको नागरिक रहेपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक, अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीयले नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’
अधिकांश नागरिकले नेपाली नागरिकता त्यागेर अमेरिका, युरोप, हङकङ, अष्ट्रेलियाको लिने गरेको उहाँको भनाइ छ । पछिल्लो दुई तीन वर्ष यता भने नागरिकता त्याग्नेको संख्या बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयका चितवनकाअनुसार चितवनमा २० वर्ष भन्दामाथि र ५० वर्ष भन्दाकम उमेर समूहका धेरै नागरिकले नागरिकता त्याग गर्ने गरेका छन् । कार्यालयका अनुसार नेपालको कानुनमा दोहोरो नागरिकता लिन नपाउने भएकोले कुनै पनि नेपालीले नागरिकता त्याग गर्न परेमा नागरिकता ऐन–२०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूची ९ अनुसार सम्बन्धित देशको राज दूतावास, गृहमन्त्रालय र जिल्ला प्रशासनमा निवेदन दिन सक्ने व्यवस्था छ । तर, नागरिकता त्याग्न चाहाने व्यक्ति स्वयम्ले निवेदनमा नागरिकता त्याग्न लागेको कारणसहित कुन देशको नागरिकता लिन लागेको सबै विवरण खुलाउनुपर्ने हुन्छ ।
त्यस्तै एक पटक नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएपछि पनि पुनः विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता लिन पाउने हुँदा चितवनमा २०६८ देखि यता एक नागरिकले पुनः नेपालकै नागरिकता लिएका छन् । पुनः नेपालकै नागरिकता लिने उक्त पुरुषले रसियाको नागरिकता त्यागेर नेपालको नागरिकता लिएको तथ्यांकमा उल्लेख छ ।
























