समाचार
कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुन्छ: नेता कोइराला

ललितपुर, फागुन १०-
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुने बताउनुभएको छ । उहाँले देशवासीको भविष्य निर्माण गर्ने पार्टी कांग्रेस मात्र भएको उल्लेख गर्नुभयो ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही फागुन ७ गतेदेखि सुकरु भएको कांग्रेस महासमिति बैठकको आज समापन सत्रमा बोल्दै नेता डा कोइरालाले महासमितिको बैठक समापनसम्म आइपुग्दा आन्दोलनमा लागेर यथोचित सम्मान पाउन नसकेकाको खोजी गरेर तिनको उचित मूल्यांकन गर्ने कार्य तथा त्यस्ता व्यक्ति, घटना र मोडको खोजी, अनुसन्धान गरी लिपिबद्ध गरेर राख्ने कामको थालनी हुनुपर्ने बताउनुभयो । उहाँले इतिहासका ती गौरवशाली क्षण र त्यसलाई दिशानिर्देश गर्ने नेताको स्मरण गर्दै अग्रजहरुले राष्ट्र निर्माणका लागि सुम्पिएका अभिभारा सफलतापूर्वक सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कांग्रेस आफ्नो इतिहासप्रति गौरव गर्दै वर्तमानलाई आकार दिएर भविष्यउन्मूख भएरै अगाडि बढ्नुपर्ने नेता कोइरालाको भनाइ थियो । पार्टीको गुमेको मूल्य, पद्धति, विचार र आदर्शलाई पुनःस्थापित गर्दै पार्टीको आन्तरिक जीवनमा कसरी पूर्नजागरण प्रवाह गर्ने भन्ने चिन्तालाई सम्पूर्ण कांग्रेसजनले सामुहिक चिन्ता मात्र होइन चिन्तन बनाएर लैजानुपर्ने आजको चुनौति भएको उहाँले उल्लेख गर्नुभयो ।
देशभित्र उठेका मुद्दा र पार्टीलाई सुधार गर्ने विषयमाथि पार्टीले गम्भीर भएर छलफल गर्नुपर्ने, कांग्रेस आफ्नो मौलिक पहिचानबाट टाढा जान नहुने, आम नागरिक आर्थिक कठिनाई, महङ्गी, बेरोजगारी, दण्डहिनता र भ्रष्टाचारको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

























