राजनीति
पार्टीको फेसबुक पेज दुरुपयोग गरेपछि रास्वपाका प्रदेश महामन्त्री निलम्बनमा

विराटनगर,फागुन ९-
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कोशी प्रदेश महामन्त्री लालविक्रम थापा कारबाहीमा परेका छन् । उनलाई पार्टीको फेसबुक पेज दुरुपयोग गरेको र सामुदायिक विद्यालयको जग्गाको भाडा नतिरेको भन्दै पार्टीले निलम्बन गरेको छ ।
उनी सुनसरी क्षेत्र नं २ मा गएको प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका थिए । उनले इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको आरोप लगाइएको छ । सो विषयमा पार्टीले उक्त मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेको भन्दै पार्टीले कारबाही गरेको हो ।
उनले विद्यालयको २ कट्टा खाली जग्गा भाडामा लिएर सनमुन प्लाजा सञ्चालन गर्दै आएका छन् । प्लाजाबीच भएको सम्झौता अनुसारको भाडा नबुझाएको भन्दै पार्टीले स्पष्टीकरण सोधेको थियो । तर संवाद प्रक्रिया नै बन्द गरी कोशी प्रदेशको सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८० भावना र मर्म विपरीत फेसबुक लाइभ गरी अनर्गल प्रस्तुति दिएको पार्टीको आरोप छ ।

























